गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपत् व्यवस्थापन कार्यकारी समितिको बैठक आज बिहान सिंहदरबारमा बसेको छ। बैठक बिहान साढे ८ बजे गृह मन्त्रालयको सभाहलमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत गर्नेछ। बर्खा लागेपछि कार्ययोजना स्वीकृत हुन लागेको हो ।
समितिमा सहरी विकास, स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँगै सचिवहरू सदस्य रहेका छन्। त्यस्तै, नेपाली सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहेका छन् भने विपत् प्राधिकरणका कार्यकारी प्रमुख सदस्यसचिव रहने व्यवस्था छ ।
प्राधिकरणले यस वर्ष बाढीपहिरोबाट २० लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ । जल तथा मौसम विज्ञान विभागले बर्खामा औसतभन्दा धेरै पानी पर्ने आकलन गरेपछि प्राधिकरणले यस्तो प्रक्षेपण गरेको हो ।