नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२२’ मा कञ्चनजंघा हिमाल सफाइका लागी युनिलिभर नेपालले सहयोग गरेको छ । फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएकाले कञ्चनजंघा हिमालमा फोहोर संकलनका लागि सेनासँग हातेमालो गरेको हो ।
स्वस्थ पृथ्वी र समाजविना व्यवसाय समृद्ध हुन सक्दैन भन्ने विश्वासका साथ सफा हिमाल अभियान–२०२२ मा नेपाली सेनासँग हातेमालो गरेको कम्पनीले जनाएको छ ।
कञ्चनजंघाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले आफ्नो अभियान २०७९ वैशाख २ गतेबाट सुरु गरी जेठ १६ गते सम्पन्न गरको थियो । टोलीले सफलतापूर्वक ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन गरेको जनाइएको छ । ४५ दिने अभियानको क्रममा कञ्चनजंघा हिमालबाट जम्मा १५.३७ टन फोहोर संकलन भएको युनिलिभरले जनाएको छ ।
सन् २०४० सम्म हालको अनुपातमा दोब्बर मात्रामा प्लास्टिक उत्पादन हुने हुँदा प्लास्टिकजन्य प्रदूषण संकट अझ बढ्ने कम्पनीको अनुमान छ । यसको समाधानका लागि राष्ट्रहरूले प्लास्टिकको प्रयोग कसरी गर्छन्, पुनः प्रयोग गर्ने र अन्ततः प्लास्टिकको प्रयोगलाई कम गर्ने तौरतरिकामा परिवर्तन गर्नुरहेको जनाइएको छ । यस अभियानको क्रममा संकलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारका रूपमा अभ्नी भेन्चर प्रालिसँग पनि समन्वय गरेको जनाएको छ ।
मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै टिम कञ्चनजंघाले फोहोर संकलनमा तीव्रता दिएर तोकिएको समयभन्दा पहिले र तोकिएभन्दा वढी संकलन गरेको कम्पनीको दाबी छ । पूर्ण समर्पित टिमले संकलन जारी राख्दा लक्ष्यको १५० प्रतिशतभन्दा बढी फोहोर संकलन गर्न सक्षम भएको युनिलिभरले जनाएको छ ।