काठमाडौं महानगरलाई सहयोग गर्न फ्रान्स इच्छुक

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँग फ्रान्सका राजदूत जिल बुर्बाओले शिष्टाचार भेट गरेका छन्। मेयर शाहको कार्यकक्षमा बुधबार भएको भेटमा महानगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणबारे छलफल भएको थियो। 

मेयर शाहले महानगर अहिले नीति तथा कार्यक्रम र बजेटको तयारीमा रहेको बताएका छन्। उनले फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका थिए ।

राजदूत बुर्बाओले सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न फ्रान्स इच्छुक रहेको बताएका छन् । उनले फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा सहयोग हुन सक्ने बताएका हुन्। 

उनले काठमाडौंको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केवलकार उपयोगी हुने बताएका छन्। अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा केवलकारमा थोरै लगानी भए पुग्ने उनको भनाइ छ ।

सुझावित समाचार