असोजमा महाधिवेशन गर्ने नेकपाकाे निर्णय

फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई नयाँ रूपमा अघि बढाउने नेकपाकाे निर्णय

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण
असोजमा महाधिवेशन गर्ने नेकपाकाे निर्णय

उदयपुरकाे रौतामाई गाउँपालिका रौतापोखरीमा बसेकाे नेकपाकाे केन्द्रीय समिति बैठक

आगामी असोज महिनामा नवौँ महाधिवेशन गर्ने निर्णय गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १३औँ केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको पर्यटकीय क्षेत्र रौतापोखरीमा बसेको बैठकले आगामी असोजमा पार्टीको नवौँ महाविधेशन गर्ने निर्णय गरेको हो । 

नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले बैठकले आगामी असोज महिनामा पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको बताए । उनले भने, ‘१३औँ केन्द्रीय कमिटीको  बैठक सम्पन्न भएको छ ।  काठमाडौंमा जेठ २० गते पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्छौँ । बैठकले मुख्य रूपमा आगामी असोजमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।’ 

बैठकले पार्टीको ‘फुटवाद’लाई परास्त गर्दै ‘एकीकृत जनक्रान्ति’को संघर्षलाई नयाँ रूपमा अघि बढाउने निर्णय गरेको पनि बताइएको छ । नाम नखुलाउने सर्तमा एक केन्द्रीय सदस्यले बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र पार्टी फुटको विषयमा छलफल भएको बताए । 

गत १२ देखि १७ जेठसम्म पार्टीको केन्द्रीय समितिको बैठक चलेको थियो । विभाजनपछि विप्लव नेतृत्वको नेकपाको पहिलो केन्द्रीय कमिटीको बैठक उदयपुरमा बसेको थियो । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी नवौँ महाधिवेशनको प्रस्ताव पेस गरेका थिए । उक्त राजनीतिक र महाविधेशनको प्रस्तावमा बैठकमा सहभागी ५८ केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समितिका दुई सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकको व्यवस्थापन नेकपा उदयपुरले गरेको थियो । 

सुझावित समाचार