गएराति उदयपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेको चनौटेमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार दुर्घटनामा परेर ट्रकका चालक बाराको सिमरा उपमहानगरपालिका– १ का ३३ वर्षीय सुदिन घलान, सहचालक २५ वर्षीय निकेश खड्का, ट्रकमा सवार सिमरा– १ का १७ वर्षीय अनोज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
मकवानपुरको हेटौँडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८ख ८२९७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।थापाले स्थानीयको सहयोगमा शव संकलन गरेर पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जानकारी दिइएको छ ।