ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्नेमा जोड दिएकी छिन्। शनिबार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकल उपयुक्त विकल्प भएको बताइन्। मन्त्री भुसालले साइकल र विद्युतीय सवारीसाधनको प्रयोगले वातावरणलाई स्वच्छ बनाउने र भोग्नुपरेको वातावरणीय समस्या समाधान हुने उल्लेख गरिन्।
‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ, जसले सबै क्षेत्रमा प्रभाव पारेको छ। यो साइकल यात्राले त्यसको जवाफ दिन्छ, हामीसँग भरपुर जलस्रोत छ। साइकलले नपुगेको वेला विद्युतीय यातायात सञ्चालन गर्नुहुनेछ भन्ने आशा छ। वातावरणीय हिसाबले भोगिरहेका समस्या समाधान हुन्छन्,’ मन्त्री भुसालले भनिन्।