नेकपा एमालेले करिब नौ महिनापछि संसद् अवरोध नगर्ने निर्णय गरे पनि शुक्रबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । नेपाल आयल निगमलाई खारेज गर्न लागिएको र त्यसबापत मोटो रकम कमिसन खान लागिएको भन्ने एमाले अध्यक्ष केपी ओलीको टिप्पणीलाई उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘आधारहीन’ र ‘झुटा’ भनेपछि एमालेले पुनः संसद् अवरोध गरेको हो ।
एमाले अध्यक्ष ओलीले बिहीबार संसदमा नेपाल आयल निगमलाई खारेज गरेर पेट्रोलियम पदार्थको वितरणको जिम्मा निजी क्षेत्रलाई दिन लागिएको र त्यसबापत मोटो रकम कमिसन खान खोजिएको भन्ने टिप्पणी गरेका थिए । बिहीबार प्रतिनिधिसभामा करिब तीन घन्टा बोलेका उनले नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने नाममा आयल निगमलाई खारेज गर्न लागिएको दाबी गरेका थिए । आफू प्रधानमन्त्री हुँदा पनि गोप्य रूपमा आयल निगम खारेज गर्न समिति नै बनाइएको, तर आफूले उक्त प्रयासलाई रोकेको ओलीको दाबी थियो ।
आलीले भनेका थिए, ‘सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने भनिएको मात्रै हो । आयल निगमलाई अन्त्य गर्ने, यसमा सुनिन्छ, अर्बौँको कारोबार भइसकेको छ, अर्बौँको कारोबार हुनेवाला छ । र, निजी क्षेत्रलाई यसको प्रयास म पहिलोपटक प्रधानमन्त्री हुँदा मलाई छक्याएर, छलेर कात्तिकदेखि एउटा समिति बनाएर ०७२ साल कात्तिकदेखि फागुनसम्म एउटा समिति बनाएर गोप्य रूपमा पाँचपटक त्यसको बैठक बसेर भित्रभित्रै झुक्याएर सिध्याउने उद्देश्य लिइएको रहेछ । त्यो थाहा पाएपछि मैले त्यसलाई रोकिदिएँ । त्यो षड्यन्त्र मरिसकेको थिएन, छैन । त्यो षड्यन्त्र अहिले पनि चालू छ । र, अहिले पनि आयल निगमलाई ध्वस्त बनाउने, निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबारको जिम्मा दिने, र त्यसबाट मोटो रकमको चलखेल भइसकेको छ, हुनेवाला पनि छ, बजारहल्ला यो छ ।’
शुक्रबार उद्योगमन्त्री बडूले ओलीको सोही टिप्पणीलाई ‘आधारहीन, झुटा, पूर्वाग्रही र आपत्तिजनक’ भएको प्रतिक्रिया दिँदै त्यसको जवाफ चाहिने बताएका थिए । ‘कुन आधारमा भनियो ? नेपाल आयल निगमलाई खारेज गरेर आधा कमिसन खायो, आधा कमिसन बाँकी छ भन्नेजस्ता झुटा, निराधार, पूर्वाग्रही नै हो त्यो अभिव्यक्ति । आधरहीन र झुटा आरोप लगाइएको छ । त्यो आरोप खेदजनक छ र त्यसको हामी विरोध गर्छौँ । यो आपत्तिजनक छ, यो आधारहीन छ, झुटा छ र पूर्वाग्रही छ । मैले यत्ति मात्रै भनेको छु, यो यसकारण भनेको छु कि प्रतिपक्षी दलको नेताजस्तो गरिमामय पदको गरिमा बाँच्यो कि सकियो ? यो उहाँले पनि बुझ्ने कुरा हो । यसका प्रति मेरो टिप्पणी छ, र मन्त्रालयको टिप्पणी छ । यसको जवाफ चाहिन्छ,’ मन्त्री बडूले भनेका थिए ।
मन्त्री बडू बोल्दै गर्दा एमालेका सांसदहरूले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए । तर, करिब दुई घन्टापछि मात्रै बैठक सुरु भएको छ ।
०७८ असारमा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले नौ महिना लगातार संसद् अवरोध गरेको थियो । ०७७ भदौ २३ देखि लगातार संसद् अवरोध गरिरहेको एमालेले स्थानीय तह निर्वाचनपछि ०७८ जेठ ३ गतेदेखि विनासर्त संसदको अवरोध हटाएर संसदीय काम–कारबाहीमा भाग लिएको थियाे ।