सत्तागठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सबैलाई अपनत्व दिने काठमाडौं बनाउन लागिपर्ने बताएकी छिन्। शान्तिबाटिकामा आयोजित सत्तागठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
महिलालाई पत्याएर उम्मेदवार बनाएको कांग्रेसले जितिसकेको भन्दै उनले यो महिला आन्दोलनका लागि ठूलो उपलब्धि भएको उल्लेख गरिन्। ‘नेपालको पुरानो पार्टीले एक महिलालाई पत्याएर उम्मेदवार बनाउनु नै हाम्रो जित हो,’ सिंहले भनिन्, ‘हामीले जितिसक्यौँ। सम्पूर्ण महिला आन्दोलनका लागि यो ठूलो उपलब्धि हो।’
काठमाडौं महानगरलाई ‘महान् घर’ बनाउन आफू लागिपरेको भन्दै उनले भ्रष्टाचारमुक्त महानगर आफ्नो प्राथमिकता रहेको प्रस्ट पारिन्। ‘म त पात्र मात्रै हुँ। म त्यहाँ पुगेपछि सबै विज्ञहरूसँग सल्लाह गरेर के–के गर्नुपर्छ भन्ने तय गर्नेछु। केन्द्र सरकार र सबैसँग समन्वय गरेर अगाडि बढ्नेछु,’ उनले भनिन्, ‘म कहिले पनि मतदाताको शिर झुकाउन दिनेछैन। सबैलाई अपनत्व दिने काठमाडौं बनाउँछु।’