नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय रूपमा विजयी बन्ने दाबी गरेका छन्।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन्। उनले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरा मात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने भन्नेबारे पहलकदमी गरिरहेको बताए।
महामन्त्री शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू क्विन्टल र अरू एक–एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए। केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक–एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए। त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको, तर गठबन्धन एक–एक तोला मात्र भए पनि सुन भएको जिकिर गरे।
महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताए। उनले काठमाडौं महानगरपालिकामा यसपटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गरे।
महामन्त्री शर्माले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रूख चिह्न लाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिबद्धता जनाए।