असन्तुष्टिहरू छातीभित्र राखेर विजय अभियानमा होमिन शेखरको कार्यकर्तालाई आग्रह

बुधबार, १४ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्काललाई असन्तुष्टिहरू छातीभित्र राखेर कांग्रेसको विजयी अभियानमा होमिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। 

कोइरालाले एक विज्ञप्ति जारी गर्दै टिकट वितरणमा एउटा मापदण्ड बनाएर अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ भन्दै बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा साथीहरूबीच आवाज उठाएको भए पनि नसुनिएको बताएका छन्। टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न नसकेको कोइरालाको आरोप छ। 

जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य, पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेको उनले बताएका छन्। कैयौँ साथीहरू स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य भएको भन्दै उनले उनीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्कन आग्रह गरेका छन्। 

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएका कुरा सार्वजनिक भइरहेको उनको आरोप छ। आफूसँग सहमत भएकै कारण कैयन साथीहरूको राजनीतिकजीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको उनको भनाइ छ। 

‘साथीहरूलाई राजनीतिक र व्यक्तिगत रूपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु। पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु। हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौँ। तैपनि हामी लड्छौँ। र अन्तत: जित सत्य र न्यायको हुन्छ। हामी निराश हुनेछैनौँ। अहिले हामी सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नुपरेको छ,’ कोइरालाले भनेका छन्।

आपसी मनमुटाव थाती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन उनले कार्यकर्ताहरूलाई अपिल गरेका छन्। 
 

सुझावित समाचार