मेयरका आकांक्षी रहेका उमेश यादवले जनता समाजवादी पार्टी परित्याग गरेर विराटनगर महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धन गरेर पार्टीले आफूलाई मेयरको टिकटबाट ‘रिङआउट’ गरेको भन्दै जसपा परित्याग गरेका यादवले आइतबार विराटनगर महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
यादव दलबलसहित विराटनगर शनिहाटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। उनी जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य थिए। एक्लै प्रतिस्पर्धा गरेर विराटनगरमा प्रमुख र उपप्रमुख दुवै पद जित्न सक्ने दाबी गर्दै आफूलाई मेयरका रूपमा प्रस्तुत गर्दै आएका यादव गठबन्धनपछि आफूमाथि अन्याय भएको भन्दै रुष्ट बनेका थिए। उनले शनिबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
०७४ को निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विराटनगर महानगरको प्रमुख पदमा प्रतिस्पर्धा गरेका यादवले १४ हजार नाै सय ३८ मत पाएर तेस्रो स्थान प्राप्त गरेका थिए।
शुक्रबार जनता समाजवादी पार्टी विराटनगरले केन्द्रीय सदस्य भूराज राई, डा. रामविलास यादव, महानगर अध्यक्ष अमरेन्द्र यादव, उपाध्यक्ष मोहम्मद नसरुल, सदस्य उमेश यादव र प्रदेश सदस्य विमला अर्याल, जिल्ला महिला अध्यक्ष सदिना खातुन र प्रदेश महिला सदस्य कुन्ता राईको नाम प्रमुख र उपप्रमुखमा सिफारिस गरेको थियो। तर, गठबन्धनको भागबन्डामा परेको विराटनगर महानगरको उपप्रमुख पदमा को उम्मेदवार हुन्छ भन्ने अझै जसपाले टुंगो लगाइसकेको छैन।