ढुवानी खर्चसमेत पर्याप्त नपाएको सुरक्षा निकायको गुनासो

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण
ढुवानी खर्चसमेत पर्याप्त नपाएको सुरक्षा निकायको गुनासो

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा बिहीबार मतपेटीका ओसारपसार गर्दै कामदारहरु । तस्बिर : रासस

सुरक्षा निकायका उच्च अधिकारीहरूले निर्वाचन सुरक्षामा अत्यावश्यक कामका लागि समेत बजेट नपाउँदा समस्या भएको गुनासो गरेका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका उच्च अधिकारीले थप बजेटका लागि पहल गरिदिन गृहमन्त्री बालकृष्ण खाणसँग आग्रह गरेका छन् । 

सुरक्षा प्रमुखहरूको गुनासो सुनेपछि गृहमन्त्री बालकृष्ण खाणले भने–

निर्वाचन तयारीका सन्दर्भमा तपाईंहरूले पेस गरेका योजना उपयुक्त छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ । त्यो हाम्रो जिम्मेवारी हो, अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपाईंहरु निर्वाचन सम्पन्न गर्न लाग्नुहोला । हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ ।

सरकारले सुरक्षा निकायलाई गाडी खरिदका लागि बजेट दिएको छैन । गाडी भाडामा लिन भनेर गत साता मात्र बजेट दिइएको, तर त्योसमेत पर्याप्त नभएको भन्दै गुनासो गरिएको छ । ‘एक हजार चार सय गाडी भाडामा लिनुपर्ने अवस्था छ,’ गृहका एक अधिकारीले भने, ‘तर, अर्थले त्यो मागलाई समेत बेवास्ता गरी एक हजार दुई सय गाडीलाई मात्र बजेट दिएको छ । यसले चुनावको सुरक्षा रणनीति नै प्रभावित हुने जोखिम छ भनेर गुनासो आएको छ ।’ नेपाल प्रहरीले मागको १७ प्रतिशत मात्र बजेट पाएको छ । सशस्त्र प्रहरी र नेपाली सेनाको पनि अवस्था उस्तै छ । 

त्यस्तै, स्थानीय भत्तालगायतका अघिल्लो चुनावमा दिइएका सुविधा कटौती गर्दा सुरक्षा निकायको मनोबल खस्किने जोखिम रहेको प्रहरीका उच्च अधिकारीले बताएका छन् । गृहमन्त्री खाणले प्रहरीलाई सुविधा दिलाउन आफूले पहल गर्ने आवश्वासन दिएका छन् । 

बैठकमा निर्वाचनको सुरक्षा तयारीका साथै चुनौती र समस्याबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा अपनाउने सुरक्षा रणनीतिबारे कुराकानी भयो,’ गृहप्रवक्ता पोखरेलले भने, ‘सुरक्षा निकायबाट बैठकमा उपस्थित हुनुभएका प्रमुख र प्रतिनिधिले निर्वाचनका लागि गरिएको सुरक्षा तयारीबारे ब्रिफिङ गराउनुभयो । थप सुरक्षा–प्रबन्ध राम्रो कसरी बनाउने र स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको छ ।’ 

बैठकमा गृहमन्त्री खाणले सुरक्षा निकायका प्रमुखहरूले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंसा गरेका थिए । ‘निर्वाचन तयारीका सन्दर्भमा तपाईंहरूले पेस गरेका योजना उपयुक्त छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ । त्यो हाम्रो जिम्मेवारी हो,’ गृहमन्त्री खाणले भने, ‘अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपार्इंहरू निर्वाचन सम्पन्न गर्न लाग्नुहोला । हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ ।’

बैठकमा गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायतका अधिकारी सहभागी थिए । 

प्रहरीलाई परीक्षा बिदासमेत बन्द
आफ्नो जनशक्तिलाई निर्वाचन सुरक्षामा केन्द्रित गर्न नेपाल प्रहरीले अत्यावश्यकबाहेक बिदामा रोक लगाएको छ । किरिया र बिरामीबाहेक अन्य बिदा नदिन प्रहरी प्रधान कार्यालयले गत साता देशैभरका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ । निर्वाचनमा जनशक्ति अभाव हुने भएकाले अत्यावश्यकबाहेकका बिदा कटौती गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । स्रोतका अनुसार परीक्षा बिदामा पनि रोक लगाइएको छ । परीक्षा बिदा दिँदा ठूलो संख्यामा कर्मचारी बिदामा बस्ने भएकाले यसका लागि पनि प्रहरीले बिदा दिएको छैन । एकै चरणमा देशैभर निर्वाचन हुँदा जनशक्ति अभाव भएको छ । निर्वाचनमा करिब ६१ हजार प्रहरी प्रत्यक्ष रूपमा खटिनेछन् । निर्वाचनको मुख्य जिम्मेवारीमा नेपाल प्रहरी छ भने सशस्त्र प्रहरी र नेपाली सेनाले गस्ती र बाहिरी घेराको सुरक्षामा उसलाई सघाउनेछन् । 

सुझावित समाचार