अध्ययन भन्छ– विश्वको कुल जनसंख्याको करिब ७ प्रतिशतले माइग्रेन र ९ प्रतिशतले तनावका कारण टाउको दुखाइको समस्या भोगिरहेका छन्
विश्वभर प्रत्येक ६ मध्ये एकजनाले प्रत्येक दिन कुनै न कुनै किसिमको टाउको दुखाइको समस्या भोगिरहेको एक अध्ययनले जनाएको छ । जसमध्ये करिब आधा प्रतिशतले माइग्रेन अर्थात् सिभियर टाउको दुखाइ र अधिकांशले तनावका कारण टाउको दुखाइको समस्या भोग्दै आएका छन् ।
नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले सन् १९६१ देखि सन् २०२० सम्म टाउको दुखाइबारे गरिएका विभिन्न अध्ययनको सर्वेक्षणबाट टाउको दुखाइबाट प्रभावितहरूको प्रतिवेदन सार्वजनिक गरेको हो । यो अवधिमा प्रकाशित तीन सय ५७ अध्ययन प्रतिवेदनमाथि गरिएको सर्वेक्षणले कोभिड महामारीपछि टाउको दुखाइको समस्या झन् बढ्दै गएको निष्कर्ष निकालेको छ । बदलिँदो व्यस्त जीवनशैलीसँगै टाउको दुखाइ अधिकांशमा मुख्य समस्याका रूपमा बढ्न थालेको अनुसन्धानकर्ताहरूले बताएका छन् । जसमध्ये अधिकांश चिकित्सकले टाउको दुखाइको मुख्य कारण तनाव र दुखाइको औषधिको अत्यधिक प्रयोगलाई मान्ने गरेका छन् ।
‘जर्नल अफ हेडएक एन्ड पेन’ नामक स्वास्थ्य जर्नलमा १२ अप्रिलमा प्रकाशित अध्ययनमा विभिन्न समयमा विभिन्न देशमा फरक लक्ष्यका साथ गरिएका तीन सय ५७ अध्ययन प्रतिवेदनले विश्वभरको अवस्था विश्लेषण गर्न सक्षम भएको जनाएको छ । अध्ययन प्रतिवेदनमा विश्वको करिब ५२ प्रतिशत जनसंख्याले एक वर्षको अवधिमा कुनै न कुनै टाउको दुखाइको समस्या भोगिरहेको उल्लेख छ ।
डा. दीपेश शाक्य, न्युरोलोजिस्ट
महामारीले निम्त्याएको बेरोजगारी, आर्थिक अभावले निम्त्याउने मानसिक तनावदेखि लिएर मोबाइल अथवा ग्याजेटको उच्च प्रयोग, सामाजिक सञ्जालमा आउने विभिन्न सूचनाले पार्ने प्रभावसम्म टाउको दुखाइका कारण बनेका छन् । जीवनशैलीमा आएको तीव्र परिवर्तन अर्थात् खानपान, उच्च गर्मी, प्रदूषण, शरीरमा पानी अभाव, फास्टफुडको अत्यधिक प्रयोगसमेत टाउको दुखाइका कारक हुन् । टाउको दुखाइ अन्य रोगको लक्षण पनि भएकाले यस्ता बिरामी बढ्नु चिन्ताजनक देखिन्छ ।
अध्ययनले कुल जनसंख्याको करिब १६ प्रतिशतमा लगातार टाउको दुख्ने समस्या रहेको जनाएको छ । यस्तै, करिब ७ प्रतिशतले माइग्रेन र ९ प्रतिशतले तनावका कारण टाउको दुखाइको समस्या भोगिरहेका छन् । पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको अध्ययनले देखाएको छ । सर्वेक्षणअनुसार नियमित टाउको दुख्ने समस्या पुरुषमा ८.६ प्रतिशत र महिलामा १७ प्रतिशत पाइएको थियो । महिनाको करिब १५ दिनसम्म महिलाले नियमित टाउको दुखाइको समस्या भोगिरहेका छन् । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ता प्रो.डा. लार्स ज्याकब स्टोभनरले भनेका छन्, ‘टाउको दुखाइ साँच्चिकै अधिकांश मानिसका लागि मुख्य डिसअर्डरका रूपमा उभिएको छ । ठाउँ र परिवेशअनुसार टाउको दुखाइको प्रकार फरक हुन सक्छ, तर टाउको दुखाइलाई ‘ग्लोबल बर्डेन अफ डिजिज’को रूपमा लिइएको छ ।
माइग्रेनको समस्या बढ्दो
प्रोफेसर स्टोभनरको समूहले गरेको अध्ययनले टाउको दुखाइको समस्या सदाबहार भए पनि १५ वर्षयता माइग्रेनको समस्या बढिरहेको देखाएको छ । पछिल्लो समय ५० वर्षभन्दा कम उमेरका मानिसका लागि माइग्रेन असक्तताका कारण मानिएको छ । संक्रमणका कारण महामारी र अन्य रोगहरू बढ्दै गइरहे पनि टाउको दुखाइ र माइग्रेन बढी सक्रिय भइरहेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । टाउको दुखाइको समस्या जिन, अत्यधिक तनाव, निद्राको समस्या र औषधिको अत्यधिक प्रयोग कारक हुन सक्ने चिकित्सकहरू बताउँछन् । माइग्रेनबाहेकका अन्य दुखाइले गम्भीर समस्या निम्त्याउने भएकाले यसको उपचारमा समेत बेवास्ता हुँदा टाउको दुख्ने समस्या लगातार सक्रिय बन्दै गएको चिकित्सकहरूको भनाइ छ ।
किंग्स कलेज लन्डनका न्युरोलोजीका प्रोफेसर तथा माइग्रेन विशेषज्ञ पिटर गोड्सबीले माइग्रेनजस्ता अवस्था अनुभव गर्नेका लागि असक्षम र डरलाग्दो अवस्था रहेको बताएका छन् । ‘हामीलाई टाउको दुखाइको समस्याका लागि थप उपचारको आवश्यकता छ । विश्वभरि नै यसको कारणबारे अनुसन्धानका लागि लगानी गर्नुपर्छ,’ उनले भनेका छन् ।
टाउको दुखाइको समस्या कोभिड महामारीको सुरुवातपछि झन् बढ्दै गएको पाइएको छ । महामारीले निम्त्याएको तनावलाई टाउको दुखाइको मुख्य कारण मानिएको छ । अध्ययनअनुसार महामारीमा टाउको दुख्ने समस्या भएमध्ये ६५ प्रतिशतमा तनाव नै कारक देखिएको छ ।
कोभिड महामारीमा बढ्यो टाउको दुखाइको समस्या
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत असारदेखि हालसम्म टाउको दुखाइको समस्या लिएर अस्पताल पुग्नेको संख्या १३ लाखभन्दा बढी पाइएको छ । विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरको प्रारम्भिक तथ्यांकअनुसार गत नौ महिनाको अवधिमा १३ लाख नौ हजार तीन सय ४१ जना टाउको दुख्ने समस्या लिएर अस्पताल पुगेका हुन् ।
०७७ साउनदेखि ०७८ असारसम्म देशभर २८ लाख ४४ हजार पाँच सय ९३ जना टाउको दुख्ने समस्या भएर अस्पताल पुगेका थिए । विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्यांकअनुसार कोभिडबाहेक विभिन्न १० प्रमुख समस्या लिएर अस्पताल पुग्नेमध्ये यो संख्या सबैभन्दा धेरै हो । र, टाउको दुखाइका बिरामी अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरैले बढेका थिए ।
०७६/७७ मा देशभर १२ लाख ९० हजार तीन सय ८० जना टाउको दुखाइका बिरामी अस्पताल पुगेका थिए । सामान्य टाउको दुखाइ घरेलु उपचार वा मेडिकलका औषधिबाट निको हुने भएकाले विगतमा यो समस्या लिएर अस्पताल पुग्नेको संख्या न्यून हुन्थ्यो । तर, महामारीमा टाउको दुखाइकै कारण अस्पताल पुग्नेको संख्या सबैभन्दा धेरै हुनु चिन्ताजनक भएको चिकित्सकहरू बताउँछन् ।
संक्रमणले निम्त्याएको तनाव, आफन्त गुमाएको तनाव वा रोजगारी गुमाएको तनाव टाउको दुखाइका मुख्य कारण बनेको बताउँछन् न्युरोलोजिस्ट डा. दिपेश शाक्य । ‘महामारीले निम्त्याएको बेरोजगारी, आर्थिक अभावले निम्त्याउने मानसिक तनावदेखि लिएर मोबाइल अथवा ग्याजेटको उच्च प्रयोग, सामाजिक सञ्जालमा आउने विभिन्न सूचनाले पार्ने प्रभावसम्म टाउको दुखाइका कारण बनेका छन्,’ उनले भने, ‘जीवनशैलीमा आएको तीव्र परिवर्तन अर्थात् खानपान, उच्च गर्मी, प्रदूषण, शरीरमा पानीको अभाव, फास्टफुडको अत्यधिक प्रयोगसमेत टाउको दुखाइका कारक हुन् । टाउको दुखाइ अन्य रोगको लक्षण पनि भएकाले यस्ता बिरामी बढ्नु चिन्ताजनक देखिन्छ ।’
महामारीले निम्त्याएको बेरोजगारी, आर्थिक अभावले निम्त्याउने मानसिक तनावदेखि लिएर मोबाइल अथवा ग्याजेटको उच्च प्रयोग, सामाजिक सञ्जालमा आउने विभिन्न सूचनाले पार्ने प्रभावसम्म टाउको दुखाइका कारण बनेका छन् । जीवनशैलीमा आएको तीव्र परिवर्तन अर्थात् खानपान, उच्च गर्मी, प्रदूषण, शरीरमा पानी अभाव, फास्टफुडको अत्यधिक प्रयोगसमेत टाउको दुखाइका कारक हुन् । टाउको दुखाइ अन्य रोगको लक्षण पनि भएकाले यस्ता बिरामी बढ्नु चिन्ताजनक देखिन्छ ।