सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेलको मापदण्ड टुंगो लगाएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा वडादेखि नै तालमेल गर्ने निर्णय भएको छ ।
मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धनबाहिरका दलसँग तालमेल गर्न नपाइने निर्णयसमेत गरेको छ । चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
२०७४ को स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने निर्णय पनि भएको छ । २०७४ को निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने र अन्य दलका उम्मेदवारले पाएको मतभारलाई पनि आधार मान्ने समझदारी भएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई सोहीअनुसार मान्ने समझदारी भएको छ । गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मतभार मान्ने समझदारी पनि भएको छ ।
गठबन्धनमा भएको समझदारी
पाँचदलीय गठबन्धनका बीच २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सिट बाँडफाँट गर्दा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँचदलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
नगरपालिका र गाउँपालिका क्रमशः प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको तालमेल गरी सिट बाँडफाँटको वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २-२ जना प्रतिनिधि रहने ।
प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ-आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ ।
सबै तहको बैठकको संयोजन नेपाली काग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने । गठबन्धनभित्र सिट बाँडफाँटको आधारहरू निम्नअनुसार तय गरिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने ।
२०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार ।
२०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेको नभए तापनि स्थानीय तहमा उपस्थिति रही यथासम्भव गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रूपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरूले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भई बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।
गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरूको अतिरिक्त वर्तमान गठबन्धनमा आबद्ध दलहरूको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।
गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्न पाउने ।