प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्दा सरकारलाई नै लाजमर्दो भइरहेको बताएका छन्। मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै उनले फोहोरबाट विद्युत् र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने बताए। ‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ, व्यवस्थापन भएको छैन। फोहोर थुप्रिएको छ। फोहोर व्यवस्थापन गर्न जरुरी छ। ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ। मैले आफैँले देखेर आएको छु धरानमा। फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ। विदेशी राजदूतहरूले पनि हामी त्यसका लागि काम गर्न तयार छौँ भनेका छन्,’ देउवाले भने।
उनले काठमाडौंका खाली ठाउँहरू भूमिाफयाहरूले आफ्नो नाममा लिइरहेका भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताएका छन्। यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।