बागमती प्रदेशले ल्यायो कर्मचारी अध्यादेश : प्रमुख सचिवको कार्यकाल पाँच वर्ष, स्थानीय तहमा प्रदेशबाटै प्रशासकीय अधिकृत

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

संघीय सरकारले निजामती कर्मचारीसम्बन्धी ऐन ल्याउन ढिलाइ गरेपछि बागमती प्रदेश सरकारले अध्यादेशमार्फत कर्मचारी व्यवस्थापनसम्बन्धी कानुन ल्याएको छ । सोमबार राजपत्रमा प्रकाशित दुई अध्यादेशमा कर्मचारी भर्ना, सरुवा तथा बढुवाका प्रावधान समावेश छन् । 

कृष्ण शर्मा खनाल आन्तरिक मामिला तथा कानुनमन्त्री

अहिले संघीय सरकारले पठाएका ४० प्रतिशत कर्मचारीको भरमा प्रदेश सरकार सञ्चालन गर्नुपरिरहेको छ । प्रदेशमा संघीय सरकारका कर्मचारी रहँदा प्रदेश क्षेत्रीय कार्यालयजस्तो मात्र बनेको छ । त्यही भएर प्रदेशले आफ्नै कर्मचारी मात्र राख्न अध्यादेश ल्याएको हो । 

अध्यादेशअनुसार स्थानीय तहमा प्रदेश सरकारले प्रशासकीय अधिकृत पद प्रदेश सरकारको हुने र प्रदेश सरकारले नै सरुवा गर्ने उल्लेख छ । स्थानीय तहका प्रशासकीय अधिकृत संघको हुने कि प्रदेशको भन्ने विवाद छ । योलगायत विवादका कारण संघीय निजामती ऐन आउन सकेको छैन । अघिल्लो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेश’ पारित गरेको थियो । सोमबार त्यसलाई राजपत्रमार्फत सार्वजनिक गरिएको हो । राजपत्रमा प्रकाशित भए पनि कानुन कार्यान्वयनमा जाने भए पनि संघीय ऐन नै नआएको अवस्थामा प्रदेशले ल्याएको अध्यादेश कतिपय प्रावधान कार्यान्वयनमा भने जटिलता आउने देखिन्छ । 

अध्यादेशअनुसार बागमती प्रदेशले ११९ वटै स्थानीय तहमा प्रदेशबाट खटाइने आठौँ, नवौँ, दसौँ र ११औँ तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृतमा खटाउनेछ । प्रदेशका सबै मन्त्रालयमा ११औँ तहका अधिकृत सचिव र १२औँ तहको अधिकृत प्रमुख सचिवका रूपमा रहनेछन् । स्थानीय तहअन्तर्गत गाउँपालिकामा आठौँ, नगरपालिकामा नवौँ, उपमहानगरमा दसौँ र महानगरमा ११औँ तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुनेछन् । 

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले अधिकांश तहका कर्मचारी प्रदेश सरकारको भइरहँदा प्रदेशमातहतका कार्यालय, मन्त्रालय र स्थानीय तहमा प्रदेशकै प्रमुख हुनुपर्ने व्यवस्थाका लागि अध्यादेश ल्याइएको बताए । ‘संघीय सरकारमातहतका कर्मचारी छोटो समयमा सरुवा हुने र संघीय सरकारका कर्मचारी रहँदा प्रदेश क्षेत्रीय कार्यालयजस्तो बनेका कारण अध्यादेश ल्याएर भए पनि प्रदेशले आफ्नै कर्मचारी मात्र राख्न खोजेका हौँ,’ उनले भने ।

मन्त्री खनालले अहिले संघीय सरकारले पठाएका ४० प्रतिशत कर्मचारीको भरमा प्रदेश सरकार सञ्चालन गर्नु परिरहेको भन्दै कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको गुनासो सुनाए । सबै तहमा आफ्नै कर्मचारी हुँदा उनीहरूको जवाफदेहिता पनि बढ्ने उनको भनाइ छ । ‘प्रदेशमा सचिव केन्द्रबाट आउँदा हामीलाई समस्या भइरहेको थियो । अब हाम्रा सचिव हुन्छन्  । प्रदेश प्रमुख सचिव र मन्त्रालयका सचिव प्रदेशकै कर्मचारी भएपछि काम गर्न पनि सहज हुनेछ,’ उनले भने ।

स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रमाणीकरण भए प्रदेश सरकारले स्थानीय तहका कर्मचारीको सरुवासमेत गर्न सक्नेछ । अध्यादेशमा प्रदेश निजामती सेवाअन्तर्गत इन्जिनियरिङ, कृषि, प्रशासन, वन, शिक्षा र स्वास्थ्य गरी ६ वटा सेवा रहने उल्लेख छ । अध्यादेशको दफा २५ अनुसार मन्त्रालयमा एक अतिरिक्त सचिव राखिने उल्लेख छ । प्रदेश सरकारमा कर्मचारी अपुग भएमा नेपाल सरकारसँग माग्न सक्ने प्रावधान पनि राखिएको छ । प्रदेशमा आधिकारिक ट्रेड युनियनबाहेक अन्य ट्रेड युनियन दर्ता गर्न नपाइने प्रावधान समावेश छ । केन्द्रमा यो विषयमा पनि विवाद भइरहेको छ । 

पाँच गाउँपालिका पिछडिएको क्षेत्रमा समावेश 
प्रदेश सरकारले बागमती प्रदेशका पाँच गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर त्यहाँका नागरिकलाई कर्मचारी भर्नामा कोटाको व्यवस्था गरेको छ । प्रदेशमा कर्मचारी भर्ना गर्दा ४५ प्रतिशत समावेशी कोटाअन्तर्गत छुट्याइएको छ, त्यसमध्ये पाँच प्रतिशत पिछडिएको क्षेत्रका लागि राखिएको छ । रसुवा, धादिङ दोलखाका पाँच गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखिएको छ । दोलखाको बिगु, रसुवाको आमाछोदिङमो र गोसाइँकुण्ड तथा धादिङको गंगा जमुना र रुवीभ्यालीलाई प्रदेशका पिछडिएको क्षेत्रमा राखी त्यहाँका नागरिकलाई सरकारी सेवामा कोटाको व्यवस्था गरिएको हो । 

सुझावित समाचार