सभामुख अग्नि सापकोटाद्वारा चिनियाँ समकक्षी लीसँग छलफल

शनिबार, २६ चैत, २०७८
डिजिटल संस्करण

तातोपानी र केरुङलगायत नाका व्यवस्थित गराउन आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी र केरुङलगायतका नाकालाई अझ व्यवस्थित र सहज ढंगले सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छन् । चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङ्सुसँग शुक्रबार भर्चुअल संवाद गरेका सभामुख सापकोटाले कोभिडपछि सीमित परिमाणमा आयात–निर्यात भइरहेको भन्दै नाका सहज ढंगले सुचारु गर्न आग्रह गरेका हुन् । 

अध्यक्ष लीले खासा, केरुङलगायतबाट हुने व्यापार तथा आवतजावतलाई सुलभ तुल्याइने र नेपालको खेलकुद तथा शिक्षाको विकासमा चीनले योगदान दिने बताएका थिए । नेपालमा चीनले लामो समयदेखि विकास निर्माण, अर्थतन्त्र विकास, स्वास्थ्य–उपचार र सांस्कृतिक सम्बन्ध विकासमा योगदान पु¥याएकोसमेत उनको भनाइ थियो ।

दुवै पक्षबाट नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन विचार आदान–प्रदान भएको र दुई देशका संसद्बीच उच्चस्तरीय भ्रमणको आदान–प्रदान निरन्तर हुनुपर्नेमा जोड दिइएको संसद् 
सचिवालयले जनाएको छ । 

‘राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चाङ्सु र सभामुखले आपसमा अनुकूल समयमा भ्रमण गर्न निम्तो आदान–प्रदान गर्नुभयो,’ छलफलपछि विज्ञप्ति जारी गर्दै संसद् सचिवालयले भनेको छ, ‘दुवै मुलुकका विधायिकीबीचको यस्ता भ्रमण र विचार आदान–प्रदानले थप घनीभूत सम्बन्ध स्थापना हुने निष्कर्षमा पुग्दै आगामी दिनमा यसलाई निरन्तरता दिने गरी छलफल समापन गरिएको थियो ।’

सभामुख सापकोटाले नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि चीनले उपलब्ध गराएको सहयोग तथा चीन सरकारबाट भएको सहायताका लागि कृतज्ञता व्यक्त गरेका थिए । भर्चुअल बैठकमा नेपालका तर्फबाट संघीय संसद् सचिवालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीरू र चिनियाँ पक्षबाट राष्ट्रिय जनकंग्रेसका विभिन्न समितिका अध्यक्ष र परराष्ट्र मन्त्रालयका उपमन्त्रीको उपस्थिति थियो । 

See More On

सुझावित समाचार