२० देशमा राजदूत सिफारिस : परराष्ट्र सेवाका आठ र राजनीतिक भागबन्डामा १२ जना

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

सरकारले छिमेकी चीनसहित २० मुलुकका लागि बिहीबार राजदूत सिफारिस गरेको छ । परराष्ट्र सेवाका आठजना सहसचिव तथा राजनीतिक भागबन्डाबाट १२ जनालाई मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्काको मौखिक प्रस्तावमा राजदूत सिफारिस भएका हुन् । 

स्रोतका अनुसार राजदूतहरूको नाम परराष्ट्र मन्त्रालयबाट टिप्पणी उठाएर लैजान बाँकी छ । ‘विगतमा पनि मन्त्रिपरिषद्बाट निर्णय गराउने र ती नाम परराष्ट्र मन्त्रालयलाई पछि टिप्पणी उठाउन लगाएर मन्त्रिपरिषद्मा पेस गर्ने चलन थियो,’ परराष्ट्रका एकजना सहसचिवले नयाँ पत्रिकासँग भने, ‘परराष्ट्र मन्त्रालयका आठजना सहसचिवमध्ये कसलाई कुन मुलुकको जिम्मेवारी दिने भन्ने थाहै नदिई सिफारिस गरिएको छ ।’ राजदूत सिफारिसमा परेका अधिकांश सहसचिवले बिहीबार राति अबेर मात्रै अनौपचारिक च्यानलबाट आफूले सम्हाल्नुपर्ने देशबारे जानकारी पाएको बताए । 

परराष्ट्रका सहसचिवमध्ये दुर्गाबहादुर सुवेदी दोस्रोपटक राजदूत भएका छन् । बाँकी सबै सहसचिव नयाँ छन् । सुवेदी जापानका लागि राजदूतमा सिफारिस भएका छन् । सुवेदी यसअघि बेलायतका लागि राजदूत थिए । कार्यकाल सकेर मन्त्रालय आएको एक वर्षभित्रै उनलाई राजदूत सिफारिस गरेकोमा परराष्ट्रमा असन्तुष्टि छ ।

राजदूत सिफारिसमा परेका परराष्ट्रका अन्य सहसचिवमा घनश्याम भण्डारी (बंगलादेश), हरिश्चन्द्र घिमिरे (बहराइन), तीर्थराज वाग्ले (म्यानमार), डोरनाथ अर्याल (ओमान), सुशीलकुमार लम्साल (इजिप्ट), भरतकुमार रेग्मी (अस्ट्रिया), निर्मलराज काफ्ले (ब्राजिल) छन् । 

राजनीतिक भागबन्डामा १२ राजदूत
सरकारले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको कोटाबाट १२ जना राजदूत सिफारिस गरेको छ । यही सरकारले ओमानबाट फिर्ता गरेका पूर्वराजदूत शर्मिला पराजुली ढकालदेखि श्रीलंकाका लागि पूर्वराजदूत रहेका प्राध्यापक डा. विश्वम्भर प्याकुर्‍यालकी श्रीमती ज्योति प्याकुर्‍यालसमेतलाई राजदूतमा सिफारिसमा गरेको छ । 

शर्मिला स्पेनका लागि राजदूत सिफारिसमा परेकी हुन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी–ज्वाइँ कैलाश पोखरेल अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएका छन् । दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, श्रीलंकाका लागि वासुदेव मिश्र, रुसका लागि मिलन तुलाधर, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, डेनमार्कका लागि प्राडा रामसुरज राय यादव, साउदी अरबका लागि नवराज सुवेदी सिफारिसमा परेका छन् । 

६ महिनापछि चीनमा राजदूत 

चीनका लागि राजदूतमा सिफारिस विष्णुपुकार श्रेष्ठ माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख तथा काहुराष्ट्र नामक मानव अधिकारवादी संस्थाका अध्यक्ष हुन् । सरकारले ११ कात्तिकमा भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्दा चीनलाई वास्ता गरेको थिएन ।

यी चारै मुलुकमा रहेका ‘राजनीतिक पृष्ठभूमि’का राजदूतलाई सरकारले ६ असोजमा फिर्ता बोलाउने निर्णय गरेको थियो । तीन मुलुकमा राजदूत नियुक्ति भएर राजदूतहरू कार्यभार सम्हाल्न गइसकेका छन् । तर, चीनमा ६ महिनापछि राजदूत सिफारिस भएका हुन् । संसदीय सुनुवाइ प्रक्रिया सकेर राजदूतहरूलाई कार्यभार सम्हाल्न अझै तीन महिना लाग्नेछ । 

६ महिनाअघि यी फिर्ता भएका थिए 

मन्त्रिपरिषद् बैठकले ६ असोजमा राजनीतिक पृष्ठभूमिका राजदूत सबैलाई फिर्ता बोलाउने निर्णय गर्ने क्रममा चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डेलाई पनि फिर्ता बोलाएको थियो । त्यसवेला भारतका लागि राजदूत नीलाम्बर आचार्य, अमेरिकाका लागि राजदूत डा. युवराज खतिवडा, लोकदर्शन रेग्मी (बेलायत), प्रतिभा राणा (जापान), डा. वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्वाज (कतार), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), शर्मिला पराजुली ढकाल (ओमान), दावाफुटी शेर्पा (स्पेन) र डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)लाई सरकारले फिर्ता बोलाएको थियो । यी मुलुकमा ६ महिनापछि बल्ल राजदूत सिफारिस भएको छ । 

विभिन्न मुलुकमा नेपालका ३० राजदूतावास, तीनवटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् । हाल परराष्ट्र सेवाका १० जना सहसचिव राजदूतका रूपमा कार्यरत छन् । 

राजदूत को कहाँ ? 

राजनीतिक भागबन्डाबाट

  • विष्णुपुकार श्रेष्ठ (चीन)
  • दानबहादुर तामाङ (दक्षिण अफ्रिका)
  • शर्मिला पराजुली ढकाल (स्पेन)
  • वासुदेव मिश्र (श्रीलंका)
  • मिलन तुलाधर (रसिया)
  • कैलाश पोखरेल (अस्ट्रेलिया)
  • डिल्लीराज पौडेल (मलेसिया)
  • शान्ता रिजाल (इजरायल)
  • ज्योति प्याकुर्‍याल (दक्षिण कोरिया)
  • प्रा.डा. रामसुरज राय यादव (डेनमार्क)
  • नवराज सुवेदी (साउदी अरब)
  • नरेशविक्रम ढकाल (कतार)

परराष्ट्र मन्त्रालयबाट

  •  दुर्गाबहादुर सुवेदी (जापान)
  •  घनश्याम भण्डारी (बंगलादेश)
  •  हरिश्चन्द्र घिमिरे (बहराइन)
  •  तीर्थराज वाग्ले (म्यानमार)
  •  डोरनाथ अर्याल (ओमान)
  •  सुशीलकुमार लम्साल (इजिप्ट)
  •  भरतकुमार रेग्मी (अस्ट्रिया)
  •  निर्मलराज काफ्ले (ब्राजिल)

विभिन्न मुलुकमा नेपालका ३० राजदूतावास, तीनवटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् । हाल परराष्ट्र सेवाका १० जना सहसचिव राजदूतका रूपमा कार्यरत छन् । 

See More On

सुझावित समाचार