कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

आसन्न ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका सत्तासाझेदार पाँच दलले निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको सत्तागठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । पौडेल सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रका पनि संयोजक हुन् । 

नेता पौडेलको नेतृत्वको समितिमा पाँचै दलका प्रतिनिधि छन् । समिति सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन् ।

समिति संयोजक पौडेलले समितिलाई निर्वाचनको तयारी र अनुगमन गर्ने भन्ने जिम्मेवारी दिइएको नयाँ पत्रिकालाई जानकारी दिए । टिकट वितरण मापदण्ड र विवाद निरुपणलगायत विषयमा समितिले के गर्ने भन्ने बाँकी रहेको उनले बताए । उनले बुधबार समितिको बैठक बस्ने र त्यहाँबाट कार्यविधि बन्ने जानकारी दिए । 

‘समितिलाई स्थानीय तहको निर्वाचनको तयारी र अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । त्यसबाहेक के गर्ने भन्ने स्पष्ट भइसकेको छैन,’ पौडेलले भने, ‘बुधबार समितिको बैठक बस्दै छ । बैठकले के गर्ने, कसो गर्ने र कसरी गर्ने भन्नेबारे टुंगो लगाउँछ । बैठकपछि मात्रै समितिको सम्पूर्ण काम र जिम्मेवारीबारे भन्न सकिन्छ ।’

निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ । बैठकमा गठबन्धनमा रहेका दलहरूबीच तालमेलको मोडालिटी, चुनावी परिचालन, तल्लो तहमा बनेका संयन्त्रबाट आएको रिपोर्टिङलगायत विषयमा छलफल हुनेछ । 

गठबन्धनको मंगलबारको बैठकमा मुख्य रूपमा चुनावकेन्द्रित विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनदिने औपचारिक भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए । बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक बृहत् अन्तक्र्रिया आयोजना गर्ने र सुझावका आधारमा ठोस कदम चाल्ने निर्णय गरेको छ ।

१७ चैतमा बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको थियो । तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्तिसन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन दिने सहमति गरेका थिए । संयन्त्रलाई २२ चैत (मंगलबार)भित्र प्रतिवेदन दिन भनिएको थियो । तर, मंगलबारसम्म सबै ठाउँबाट प्रतिवेदन आइसकेका छैनन् । 

दलहरूका प्रदेशस्तरीय प्रमुख रहेको प्रदेशस्तरीय समिति, जिल्लास्तरमा जिल्लाका प्रमुखहरूको समिति र गाउँपालिकास्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्रले काम गरिरहेका छन् । ती संयन्त्रलाई सम्बन्धित प्रदेश, जिल्ला र गाउँपालिकामा पाँँच दलको अवस्था कस्तो छ, त्यसबारे केन्द्रलाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । ती प्रतिवेदनका आधारमा केन्द्रीय नेतृत्वले समग्र परिस्थितिको विश्लेषण गर्ने र थप निष्कर्षमा पुग्ने तयारी गरेको छ ।
 

सुझावित समाचार