दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पपुवा न्युगिनी ५० रनले पराजित सन्दीप लामिछानेको कप्तानीमा नेपाललाई पहिलो उपाधि
नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराउँदै त्रिकोणात्मक सिरिजको ट्रफी हात पारेको हो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि हात पारेको हो । गत वैशाखमा नेपालले त्रिवि मैदानमै टी–२० उपाधि जितेको थियो । घरेलु मैदानमा नेपालले लगातार दोस्रोपटक टी–२० उपाधि हात पारेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल बनायो । प्रत्युत्तरमा पपुवा न्युगिनी १६.१ ओभरमा एक सय १७ रनमा समेटिँदा नेपाल ५० रनले विजयी भयो । नेपालको सानदार जितमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । उनले नेपाललाई जित दिलाउन ब्याटिङ र बलिङमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
ब्याटिङमा ३८ बलमा ५४ रन तथा बलिङमा १८ रन खर्चेर चार विकेट हात पारे । यही प्रदर्शनका आधारमा दीपेन्द्रसिंह फाइनल खेलकै म्यान अफ दी म्याच तथा म्यान अफ दी सिरिज भए । समग्रमा दीपेन्द्रले पाँच खेलमा सात विकेट लिनुका साथै दुई सय ५५ रन जोडे । टी–२० खेलमा दीपेन्द्रसिंह नेपाली खेलाडीमध्ये हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।
प्रतियोगितामा तेस्रो टोलीका रूपमा मलेसिया थियो । लिग चरणमा नेपालले चारै खेलमा जित निकालेर फाइनल स्थान सुरक्षित गरेको थियो । पपुवा न्युगिनी र मलेसियाले समूह चरणमा दुई अंक मात्र बटुलेका थिए । रनरेटका आधारमा पपुवा न्युगिनीले उपाधि भिडन्तमा नेपालविरुद्धको भेट पक्का गरेको थियो ।