बक्यौता नबुझाउने हेली कम्पनीलाई निकुन्ज क्षेत्रमा उडान–अवतरणमा रोक

सोमबार, २१ चैत, २०७८
डिजिटल संस्करण
बक्यौता नबुझाउने हेली कम्पनीलाई निकुन्ज क्षेत्रमा उडान–अवतरणमा रोक

प्रतिकात्मक तस्बिर ।

सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु रकम फर्स्याेट नगर्ने हेलिकोप्टर कम्पनीलाई निकुन्ज क्षेत्रमा उडान–अवतरणमा रोक लगाउने निर्णय गरेको छ। पटक–पटक ताकेता गर्दासमेत ११ वटा हेलिकोप्टर कम्पनीले अवैध उडान–अवतरणको बेरुजु रकम फर्स्याेट गर्न तदारुकता देखाएका छैनन्। 

निकुन्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन्। हेलिकोप्टर कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को करिब सवा करोड शुल्क बुझाउन बाँकी रहेको निकुन्जले जनाएको छ। निकुन्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको अध्यक्षतामा बसेको जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले उडान–अवतरणमा रोक लगाउने निर्णय गरेको हो।

बैठकले रकम दाखिलाका लागि ताकेता गर्ने र ताकेता गरेपछि पनि दायरामा नआए प्रवेशमा रोक लगाउने निर्णय गरेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए। निकुन्जले यसअघि पनि पटकपटक बक्यौता बुझाउन पत्रमार्फत आग्रह गर्दै आएको थियो।

कैलाश एयरले आव ०७५/७६ कै आठ लाख ६१ हजार बुझाउन बाँकी छ । त्यस्तै, सिम्रिकको १८ लाख तीन हजार, एभरेस्ट हेलीको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र डाइनेस्टीले सात लाख २९ हजार बुझाउन बाँकी रहेको निकुन्जको तथ्यांक छ । अन्य सात कम्पनीहरूबाट कुल चार लाखभन्दा मुनि बक्यौता रकम रहेको निकुन्जले जनाएको छ । तर, हेलिकोप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको बताउँदै आएका छन्।

सुझावित समाचार