आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली कांग्रेससहित पाँच दलको गठबन्धन हुने भएको छ । आइतबार कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडीि बढ्ने निर्णय गरेका हुन् । कांग्रेस बागलुङका सभापति जित शेरचनको सभापतित्वमा बसेको बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको हो ।
बैठकले गठबन्धनमा भएका राजनीतिक दलका केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशनबमोजिनम नै वडा तहदेखि नै प्रतिवेदन तयार पार्नका लागि सबै दलका एक–एकजना प्रतिनिधि रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेकाे कांग्रेस बागलुङका सभापति शेरचनले जानकारी दिए । कार्यदलमा कांग्रेसको तर्फबाट जिल्ला सचिव हरिहर शर्मा, माओवादी केन्द्रको तर्फबाट गण्डकी प्रदेश उपाध्यक्ष तथा जिल्ला संयोजक ज्ञामनाथ गैरे, नेकपा (एस)बाट गोविन्द गौतम, जसपाबाट कृष्ण शर्मा र राष्ट्रिय जनमोर्चाको तर्फबाट जिल्ला सचिव भीमलाल पोखरेल रहेका छन् । कार्यदलले वडा तहसम्म अध्ययन गरी २२ चैतभित्र केन्द्रमा प्रतिवेदन बुझाउनुपर्ने सभापति शेरचनले बताए । प्रतिवेदन बुझाएपश्चात् सोहीअनुसार छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
जिल्लामा निर्वाचनका लागि सैद्धान्तिक र नीतिगत छलफलका लागि एक राजनीतिक दलबाट दुईजना प्रतिनिधि रहने गरी १० जनाको छुट्टै कार्यदल गठन गरिने बताइएको छ । त्यसका लागि हरेक दलले दुई–दुईजनाको नाम सिफारिस गर्ने माओवादी केन्द्रकी जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिइन् । जिल्ला तहमा कुन ठाउँमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।
पहिलो चरणमा अध्ययन गरेर प्रतिवेदन बुझाएपश्चात् उक्त विषयमा उच्चस्तरीय संयन्त्र बनाई छलफल गरिने नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रामजीप्रसाद शर्माले बताए । शर्माले पाँचदलीय गठबन्धन स्थानीय तहमा पहुँचमा पुग्न मात्र नभएर हिजोको प्रगितमनविरुद्ध भएको बताए । उनले केन्द्रीयस्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताए । स्थानीय तह निर्वाचनमा तल्ला तहसम्म नै अध्ययन गरेर जनताको भावनाअनुसार उम्मेदवार छनाेट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा सोहीअनुसार उम्मेदवारको टुंगो लाग्ने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले बताए । ढुंगानाले केन्द्रीय निर्णयलाई स्वागत गर्दै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाएर अगामी निर्वाचन गठबन्धनको पक्षमा लाग्ने गरी सबै राजनीतिक दल लागेको बताए ।
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य चम्पा खड्का, कांग्रेस बागलुङका पूर्वसभापति दीपेन्द्रबहादुर थापा, पूर्वउपसभापति जगदीशचन्द्र उपाध्याय, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, राजीव घिमिरे, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष लालबहादुर थापा, जसपाका संघीय परिषद् सदस्य प्रकाश बगालेलगायतको उपस्थिति थियो ।