कोरोनाका कारण हिउँदमा विद्यालय बन्द भएकाले बालबालिकाले चिसो झेल्नुपरेन । तर, अहिले हपहपी गर्मीमा टिनको छाप्रा र चौरमा कक्षा लिँदै छन् । जुनकुनै वेला असिना–पानी बर्सिने सम्भावना पनि छँदै छ ।
गुल्मी : बाँसको भाटामा टिनको छाप्रो, त्यसमाथि बडेमानका ढुंगा–मुढा, बालबालिकालाई पढाइभन्दा ज्यानको चिन्ता
यो फोटो गुल्मीको मालिका गाउँपालिका– २ दर्लिङ साउनेपानीमा ५० विद्यार्थी अध्ययनरत सिद्धमालिका आधारभूत विद्यालयको हो । विद्यालय बनाउन आठवटा लिखुरा खाँबा गाडिएका छन् । छानामा बाँसको भाटामाथि केही थान जस्तापाताको छाप्रो लगाइएको छ । जस्ता अड्याउन माथिबाट बडेमानका ढुंगा–मुढाले च्यापिएको छ । ढुंगा–मुढाको भारले टहरो लच्किएको छ । यही जोखिममुनि ५० कलिला बालबालिका पढ्छन् ।
आठवटा लिखुरा खाँबा गाडिएका छन् । छानामा बाँसको भाटामाथि केही थान जस्तापाताको छाप्रो लगाइएको छ । जस्ता अड्याउन माथिबाट बडेमानका ढुंगा र मुडाले च्यापिएको छ । ढुंगामुढाको भारले टहरो लच्किएको देखिन्छ । यही जोखिममुनि टिनकै छेकबार लगाएर कक्षा १, २ र ३ का ५० बालबालिकाको पढाइ चल्छ । टिनको छानोले पानी ओत्दैन । चर्को घाममा टिन तातेर बालबालिका असिनपसिन बन्छन् । अब त हुरी चल्ने मौसम सुरु भयो, टहरो भत्किएर अप्रिय दुर्घटना हुन सक्ने खतरा छ ।
यो दयनीय हालत गुल्मीको मालिका गाउँपालिका– २ दर्लिङ साउनेपानीस्थित सिद्धमालिका आधारभूत विद्यालयको हो । एक सय ५० विद्यार्थी अध्ययन गर्ने यो विद्यालयका आठवटै कक्षाको हालत करिब उस्तै छ । अन्य कक्षा पनि टिनको असुरक्षित टहरामै छन् । केही कोठा भत्किएको पुरानो कच्ची भवनभित्र छन् ।
विद्यालयको दु:खद कथा लामो छ । दलित समुदायको बस्तीबीच रहेको विद्यालयमा विद्यार्थी पनि ९० प्रतिशत दलित समुदायकै छन् । केही तल कथित उपल्लो जातको बस्ती छ । पटक–पटक भवन बनाउन बजेट आए पनि त्यहाँका केही व्यक्तिले अवरोध गरेको अभिभावक संघका अध्यक्ष अनबहादुर कामीले गुनासो गरे । ‘वन र अख्तियारमा मुद्दा हालेर दुःख मात्रै दिएनन्, सडक र विद्यार्थी हिँड्ने बाटोसमेत बन्द गरेपछि कसरी काम गर्ने ?’ कामीले भने, ‘तल्लो गाउँका केही मान्छेकै कारण बालबालिकालाई टहरोमा राखेर पढाउन बाध्य छौँ ।’
०७२ को भूकम्पपछि देशभरका विद्यालय पुनर्निर्माण हुने क्रममा यहाँ पनि पुनर्निर्माण प्राधिकरणबाट चारकोठे भवन निर्माणका लागि ७२ लाख परेको थियो । तर, अवरोधका कारण कामै नभई पैसा फ्रिज भयो । ०७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट फेरि विद्यालय भवन बनाउन बजेट पर्यो । विद्यालयसम्म सडक थिएन । बडिगाड खोलाबाट खच्चरमा बोकाएर बालुवा पुर्याए । समुदायले श्रमदान गरेर केही काम गरे । तर, ०७४ मा संघीयता कार्यान्वयन भएपछि काम अलपत्र बन्यो । ०७३ मा सुरु भएको भवनको बल्ल बिम कस्ने काम भएको छ । अहिले काम गर्न खोज्दा सडकमा पर्खाल लगाएर छेकिएको र विद्यार्थी हिँड्ने बाटोमै घर बनाइदिएको कामीले बताए ।
विद्यालयका प्रधानाध्यापक प्रदीप पन्थले भौगोलिक विकटता, चेतना र काममा अवरोध हुँदा विद्यालयको भवन बन्न नसकेको बताए । ‘तत्कालीन पुनर्निर्माण प्राधिकरण, जिल्ला शिक्षा कार्यालय तथा स्थानीय सरकारबाट संरचना निर्माण र दरबन्दीमा सहयोग हुँदै आए पनि स्थानीय स्तरमै समस्या छ,’ उनले भने, ‘भवन निर्माणमा अवरोध हुँदा बालबालिका टहरोमा बस्न बाध्य छन् ।’ तल्लो गाउँका बालबालिका पढ्न नजिकै अर्को माध्यमिक विद्यालय छ ।
जुम्ला : विद्यालयको जीर्ण भवन हिमपातले ढाल्यो, कक्षा १ देखि ८ सम्मका विद्यार्थी खुला चौरमा अध्ययन गर्दै
जुम्लाको कनकासुन्दरी गाउँपालिका– ३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयको एउटा भवन ९ माघमा हिमपातले गलेर ढल्यो । अर्को एउटा भवन पनि बस्नै नमिल्ने छ । बस्न मिल्ने दुई कोठामध्ये एउटामा विद्यालयको कार्यालय र अर्कोमा बालकक्षा राखिएको छ । एकदेखि आठ कक्षासम्मका विद्यार्थी कोठाको अभावमा घाम–पानी जे होस्, खुला चौरमै अध्ययन गर्न विवश छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका– ३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयको एउटा भवन ९ माघमा हिमपातले गलेर ढल्यो । अर्को एउटा भवन पनि बस्नै नमिल्ने गरी जीर्ण अवस्थामा छ । बस्न मिल्ने दुईकोठे भवन मात्रै छ, एउटामा कार्यालय र अर्कोमा बाल विकास केन्द्रका बालबालिका राखिएको छ । एकदेखि आठ कक्षासम्मकै विद्यार्थी खुला चौरमा पढाउनुपर्ने बाध्यता छ । ‘चौरमा बसेर पढ्दा घामले पोल्छ । कहिलेकाहीँ हावाले धुलो उडाएर हैरान पार्छ । अब बर्खामा पानी पर्दा झन् कसरी पढ्ने हो ?’ कक्षा ५ का छात्र नीराजन बुढाले गुनासो गरे ।
पानी छिरेर गारो गलेको र जीर्ण भवनको छानोमा बाक्लो हिउँ जम्दा थेग्न नसकेर भत्किएको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए । अर्को जीर्ण भवन पनि पानी चुहिने भएकाले बरु बाहिरै जोखिम कम हुने ठानेर एकदेखि आठसम्मका सबै कक्षा चौरमा सञ्चालन गरेको उनको भनाइ छ । यो भवनको पनि ढोका र पर्खालमा राखिएका सबै काठ कुहिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाका अनुसार ४० घरपरिवारका विद्यार्थी नवदुर्गा आधारभूत विद्यालयमा पढ्छन् । पर्याप्त कक्षकोठा व्यवस्थापन गर्न स्थानीय सरकार, कर्णाली प्रदेश सरकार, संघीय सरकारदेखि सामाजिक संघसंस्थासम्म पुगे पनि कसैले सुनुवाइ नगरेको उनले बताए । ‘हामी विद्यार्थीको दुःखप्रति निकै संवेदनशील छौँ । तर, विद्यार्थीको पीडा बुझिदिने सरकार भेट्टाउन सकेका छैनौँ । नजिकैको स्थानीय सरकारले पनि यो विद्यालयलाई उपेक्षा गरिरहेको छ,’ उनले भने ।
गत बर्खामा विद्यालय भवनको गारो पहिरियो, थप भत्किएर च्यापिने डरले चौरमै चलाइन्छ कक्षा
म्याग्दीको सडक सञ्जालले नजोडिएको धवलागिरि गाउँपालिका– २ मा अवस्थित दुर्गम बस्ती लुलाङ । यहाँ दलित समुदायको बाक्लो बस्ती छ । गाउँमै कक्षा ८ सम्म पठनपाठन हुने लुलाङ आधारभूत विद्यालय पनि छ । जहाँ दुई सय ३५ विद्यार्थी छन् । तर, दुईवटा भवन अति जीर्ण बनेपछि खेलमैदानमा कक्षा चलाउनुपर्ने बाध्यता छ । तीनकोठे भवन गत असोजमा बर्सातले भत्कियो । कार्यालय र पुस्तकालयसहित दुईवटा कक्षा सञ्चालन हुने गरेको अर्को दुईतले कच्ची भवन पनि भत्किने अवस्थामा छ । हावाहुरी र पानी पर्ने समयमा भत्किने डरले अधिकांश कक्षा चौरमै पढाउन थालिएको प्रधानाध्यापक नागेन्द्र ठाकुरले बताए । तर, चौरमा घाम, हावाहुरी र वर्षाले दिने कष्ट छँदै छ ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा दुईकोठे ट्रस भवन र खानेपानी तथा सरसफाइसहितको छात्रामैत्री शौचालय निर्माण गरिएको थियो । बाल विकासका लागि केही वर्षअघि निर्माण भएको भवन र दुईकोठे ट्रस भवनबाहेक अन्य भौतिक पूर्वाधार जीर्ण बनेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत चारकोठे भवन माग गरिएको भए पनि छनोटमा नपरेको र अन्य कुनै पनि निकायबाट भवनलगायत पूर्वाधारमा योजना नपरेको प्रधानाध्यापक ठाकुरले बताए ।
टिनको टहरामुनि हत्केलाले सूर्य छेक्दै कक्षा
दाङको तुलसीपुर उपमहानगरपालिका– ३ अम्बासस्थित मावि प्रतापपुरका कक्षा ४, ५ र ६ का विद्यार्थी चैतको धुपमा टिनको टहरामुनि हत्केलाले सूर्य छेकेर पढ्न बाध्य छन् । कक्षा ७ का विद्यार्थी चौरमा पढ्छन् । आठकोठे नयाँ भवन बनाउन भन्दै गत कात्तिकमा पुरानो जीर्ण भवन भत्काए पनि निर्माणले गति नलिँदा विद्यार्थी टहरा र चौरमा पुगेका हुन् । असार मसान्तसम्म भवन तयार गर्ने गरी ठेक्का सम्झौता भएर शिलान्यास भएकोमा काम नै सुरु गरेको छैन । ‘०२८ मा बनेका भवन पुराना भएपछि नयाँ बनाउने योजना बन्यो । अन्यत्र जग्गा नभएपछि पुरानो भवन भत्काएर त्यही ठाउँमा बनाउने भनियो । तर, कात्तिकमै पुरानो भवन भत्काए पनि नयाँ निर्माणले गति लिएको छैन,’ प्रधानाध्यापक फस्टबहादुर राणाले भने, ‘बालबालिका टिनको टहरो र चौरमा कष्टपूर्ण कक्षा लिन बाध्य छन् । बर्खामा झन् कसरी पढाइ गर्ने हो सोच्न सकेको छैन ।’
एउटै टहरोमा तीनवटा कक्षा सञ्चालन गर्दा हल्लाले पठनपाठनमा समस्या भएको विद्यार्थीको गुनासो छ । १० कक्षासम्म सञ्चालित विद्यालयमा दुई सय ४५ विद्यार्थी छन् । अन्य कक्षा पनि जीर्ण भवनमा चलिरहेका छन् । नयाँ भवन छाया नेपालले ८० प्रतिशत र उपमहानगरपालिकाले २० प्रतिशत खर्च व्यहोर्ने गरी एक करोड ४३ लाखमा ठेक्का लगाइएको हो । यहाँ निर्माण अलपत्र हुँदा योसँगै छाया नेपालले नै निर्माण थालेको तुलसीपुर– ७ कालाखोलास्थित भवन निर्माण भने अन्तिम चरणमा पुगेको छ ।
बाजुरा : विद्यालय पुग्नै ज्यानको बाजी लगाउनुपर्छ, फड्के तर्दा खोलामा खसेर कक्षा १ मा पढ्ने नाबालकले ज्यान गुमाए
बाजुराको हिमाली गाउँपालिका– ३ स्थित गंगा आधारभूत विद्यालयमा भौतिक संरचनाको अभाव र भएका पनि जीर्ण हुँदा प्रायः चौरमै पढाइ हुन्छ । विद्यालयको कष्ट त एकातिर छ, विद्यालय पुग्न र फर्किँदा त बालबालिकाको ज्यान नै जोखिममा हुन्छ । गाउँ र विद्यालयबीच खोला छ, जहाँ पुल होइन काठको फड्के छ । गत वैशाखमा फड्केबाट चिप्लिएर कक्षा १ मा पढ्ने पाँच वर्षीय समरूप थापाको ज्यान नै गयो । जोखिम यथावत् छ ।
बाजुराको दुर्गम हिमाली गाउँपालिका– ३ स्थित गंगा आधारभूत विद्यालयका बालबालिकाको पढाइ प्रायः चौरमै हुन्छ । भौतिक संरचनाको अभाव र भएका पनि जीर्ण हुँदा चौरमा पढ्नुपरेको हो । विद्यालयमा कष्ट छँदै छ, विद्यालय पुग्न र विद्यालयबाट फर्किँदा झन् जोखिम छ । बीचमा खोला छ, जहाँ पुल छैन । बाजुरा बौडी गाउँका बालबालिका काठको फड्के तरेर वारपार गर्नुपर्छ । गत वैशाखमा फड्केबाट चिप्लिएर कक्षा १ मा पढ्ने पाँच वर्षका समरूप थापाको ज्यान नै गयो । थापाको शव पाँच दिनपछि बाजुराको युना बगरमा फेला परेको स्थानीय जसपुरी रोकायाले बताइन् ।
कतिपय बालबालिकालाई फड्के तार्न अभिभावक पुग्नुपर्छ । कतिपय बालबालिका खोलाको जोखिमकै कारण विद्यालय जाँदैनन् । विद्यालयमा एक सय पाँच बालबालिका भर्ना भएकामा ४४ छात्र र ४० छात्रा गरी ८४ जना मात्रै उपस्थित छन् । ‘विद्यालयको जीर्ण भवन मर्मत गर्न गाउँपालिकाबाट पाँच लाख र प्रदेश सरकारबाट १० लाख खर्च गरिएको छ । यसले भत्किएका भवन टालटुल गर्ने र भवनमा जस्तापाता लगाउनेबाहेक काम हुन सकेन,’ वडाध्यक्ष धयाने बुढाले भने, ‘पुल निर्माणका लागि गाउँपालिकामा आग्रह गरे पनि सुनुवाइ भएन ।’
रौतहट : भुइँमा बसेर पढ्ने विद्यार्थी बोरा बोकेर स्कूल जानुपर्छ, ६ वटा कक्षाका एक सय ४२ विद्यार्थी एउटै कोठामा
रौतहटको फतुवा विजयपुर नगरपालिका– १ शीतलपुरस्थित दलित प्राथमिक विद्यालय कुनै कोणबाट पनि विद्यालयजस्तो देखिँदैन । फरिकोले बारेको फुसको छाप्रोमा भुइँमै कक्षा सञ्चालन हुन्छ, त्यो पनि बाल कक्षादेखि पाँच कक्षासम्मका एक सय ४२ एउटै कोठामा कोचिएर । बालबालिका किताब–कापीसँगै बोरा बोकेर विद्यालय जान्छन् । दलित प्राविको दयनीय अवस्थाप्रति नगरपालिकाले पनि चासो दिएको छैन ।
रौतहटको फतुवा विजयपुर नगरपालिका– १ शीतलपुरस्थित दलित प्राथमिक विद्यालय जहाँ दलित समुदायका बालबालिका अध्ययन गर्छन् । विद्यालय कुनै कोणबाट पनि विद्यालयजस्तो छैन । फरिकोले बारेको फुसको छाप्रोमा चिसो भुइँमै कक्षा सञ्चालन हुन्छ, त्यो पनि बाल कक्षादेखि पाँच कक्षासम्म ६ वटै एकै ठाउँमा । बालबालिका किताब–कापीसँगै बोरा बोकेर विद्यालय जान बाध्य छन् । विद्यालयको जिम्मेवारी स्थानीय तहको भए पनि दलित प्राविको दयनीय अवस्थाप्रति नगरपालिकाले चासो नदिएको प्रधानाध्यापक रामेश्वर महराले बताए । शिक्षा मन्त्रालयले शून्य दरबन्दीमा वार्षिक १० लाख दिँदै आएको र सो रकम पाँच शिक्षकको तलबमै खर्च हुने गरेको उनको भनाइ छ । विद्यालयको नाममा बकैया खोलाछेउमा १० धुर जमिन मात्र छ । सबै कक्षाका विद्यार्थी एकै ठाउँमा पढ्दा हल्लाले पढेकै नबुझिने गरेको ५ कक्षाकी छात्रा रुबी यादवले गुनासो गरिन् ।
टेन्टमा पढ्दै छन् बालबालिका
गत १ असारमा मर्स्याङ्दीमा आएको बाढीले बगाएको मनाङको नासों गाउँपालिका– १ तालस्थित भानु माविका विद्यार्थी चैतको टन्टलापुर घाममा टेन्टभित्र बसेर पढ्न बाध्य छन् । हिमालको चिसो सिरेटो, मर्स्याङ्दी नदीको चिसो हावा र चैतको टन्टलापुर घाममा टेन्टमुनि बसेर पढ्न समस्या भएको कक्षा १० मा अध्ययनरत पूर्णिमा गुरुङ बताउँछिन् । ०३२ मा स्थापना भएको विद्यालयमा बालदेखि १० कक्षासम्म पढाइ हुन्छ । अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने विद्यालय बाढी र पहिरोको चपेटामा परेपछि पढाइमा समस्या भएको प्रधानाध्यापक श्यामकृष्ण पन्तले बताए ।
सामुदायिक स्कुलमा डेढ लाख कक्षाकोठा अभाव

देशभर प्रारम्भिक बाल विकाससहित ३० हजार पाँच सय ८७ सामुदायिक विद्यालय छन् । सरकारी तथ्यांकअनुसार यी विद्यालयमा करिब डेढ लाख कक्षाकोठा अभाव छन् ।
देशभरका सामुदायिक विद्यालयमा डेढ लाख कक्षाकोठा आवश्यक रहेको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए । शिक्षा मन्त्रालय र केन्द्रमा सामुदायिक विद्यालयले सबैभन्दा बढी कक्षाकोठा निर्माणको माग गर्दै आएका छन् ।
केन्द्रले राष्ट्रपति शैक्षिक कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयलाई आवेदन माग गर्दा सबैभन्दा धेरै विद्यालयले कक्षाकोठा निर्माणको माग गरेका थिए । चालू आर्थिक वर्षका लागि माग गरेको सो कार्यक्रममा कक्षाकोठा निर्माणका लागि सात हजार नौ सय ८६ विद्यालयले आवेदन दिएका थिए । शैक्षिक सुधारका लागि १३ हजार चार सय ७३ आवेदन परेकामा आधाभन्दा बढी भवन निर्माणको माग भएको महानिर्देशक पौडेलले बताए । उनले भवनको मागलाई क्रमशः पूरा गर्दै जाने बताए ।
कर्णाली र सुदूरपश्चिमका विद्यालयमा धेरै कक्षाकोठाको माग भएको छ । केन्द्रले चालू आर्थिक वर्षमा झन्डै दुई हजार विद्यालयमा कक्षाकोठा निर्माणका लागि अनुदान दिएको छ । जसमध्ये नौ सय ७६ विद्यालय चारकोठे र नौ सय ६६ विद्यालय दुईकोठे भवन निर्माणका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । यसले पनि देशभरमा भवन निर्माणको आवश्यकता देखिएको छ ।
भवनपछि बढी आवश्यकता आइसिटीमा देखिएको छ । आइसिटीका लागि चार हजार दुई सय आवेदन परेकामा आइसिटी ल्याब व्यवस्थापनमा दुई हजार एक सय ६ छनोट भएका छन् ।
देशभर प्रारम्भिकदेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयको संख्या ३५ हजार ६ सय ७४ छ । यसमध्ये ३० हजार पाँच सय ८७ सामुदायिक विद्यालय छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्लास रिपोर्ट, २०२० अनुसार प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म निजी र सामुदायिकमा गरी ८२ लाख १४ हजार पाँच सय १३ बालबालिका छन् । रिपोर्टअनुसार कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५३ लाख ३५ हजार आठ सय ४३ विद्यार्थी भर्ना भएका थिए ।
भूकम्प प्रभावित जिल्लामा पनि थप कोठा आवश्यक
०७२ को भूकम्पले ३१ जिल्लाका विद्यालय प्रभावित भएका थिए । तीमध्ये सात हजार पाँच सय ८३ विद्यालय पुनर्निर्माण गर्नुपर्नेमा अधिकांश निर्माण सम्पन्न भएका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार विद्यालय पुनर्निर्माणमा अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । अहिलेसम्म ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण भइसकेका छन् । नौ सय ३६ निर्माणाधीन छन् । जम्मा बनाउनुपर्ने विद्यालय संख्या सात हजार पाँच सय ८३ हो ।
इकाइका अनुसार भूकम्पबाट ३१ जिल्लामा सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयको २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा, १२ हजार पाँच सय २२ कक्षाकोठा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठा आंशिक क्षति पुगेको थियो ।
काठमाडाैंमा भवानीश्वर गाैतम, हुम्लामा नरजन तामाङ, जुम्लामा मानदत्त रावल, दाङमा दीपक बोहरा, गुल्मीमा टोपलाल अर्याल, म्याग्दीमा कमल खत्री, लमजुङमा शान्ता कमली, रौतहटमा अशोक पहाडी