पाथीभरामा तीर्थयात्रीको ओइरो

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

पाथीभरादेवीकाे दर्शनका लागि दैनिक सात हजार तीर्थयात्री आउन थालेका छन् भने शनिबार र मंगलबार  याे संख्यामा अझ वृद्धि हुन्छ 

कोरोनाका कारण तीन वर्षदेखि शिथिल भएको पाथीभरामा तीर्थयात्रीको भिड बढेको छ । सिजन सुरु हुनु अगाडिदेखि नै  आजभोलि दैनिक सात हजारसम्म तीर्थयात्री आउन थालेका छन् । हिउँद याम सकिँदा नसकिँदै पाथीभरा आउने श्रद्धालु भक्तजनको संख्यामा वृद्धि भएको हो । कोरोना कहर घटेसँगै सिजन अगाडिदेखि नै दैनिक सात हजारसम्म तीर्थयात्री यहाँ आएको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले जानकारी दिए।

विशेषगरी रामनवमीमा तीर्थ यात्रीहरू धेरै आउने गरे पनि अहिले नै चाप बढेको काफ्लेले बताए । चैत महिनामा मौसम पनि सफा हुने र यो समयमा पाथीभरादेवीको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ तीर्थयात्रीको ओइरो लागेको काफ्लेको भनाइ छ । दर्शनार्थीको संख्या शनिबार र मंगलबार अझ बढी हुने बताउँदै काफ्लेले भने, ‘सुकेटारदेखि तल्लो फेदीनजिक भालुगौँडेसम्मको मोटरबाटो मर्मत सुधार गरेमा दर्शनार्थीलाई आवतजावत गर्न अझ सहज हुनेछ ।’

सिजनमा पाथीभरादेवी दर्शनका लागि भारतलगायत देशैभरबाट दर्शनार्थी आउने गर्छन् । पाथीभराको दर्शन गरेपछि  चिताएको पुग्ने धार्मिक विश्वास रहिआएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित पाथीभरादेवीको दर्शनसँगै पाथीभराबाट विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा र किराँतहरूको धार्मिक आस्थाको केन्द्र फक्ताक्लुङ (कुम्भकर्ण)लगायतका हिमशृंखलाहरूको दृश्यावलोकनसमेत गर्न सकिने भएकाले तीर्थयात्रीहरू मनोरञ्जन लिन पनि टाढाटाढाबाट आउने गर्छन् । 

यस्तो छ किंवदन्ती 
परापूर्वकालमा गोठालाहरूका सयौँ भेडा हराएका र हराएका भेडा खोज्ने क्रममा थकित भएका गोठालाहरूलाई सपनामा देवीले एउटा भेडा बलि दिए भेँडा भेटिने भनेको र सोहीबमोजिम बलि दिएपछि सबै भेडाहरू भेटिएको किंवदन्ती रहेको पाइन्छ । गोठालाले आफ्ना भेडा भेट्टाएको खुसियालीमा पाथी भरेजस्तो डाँडामा देवीको  स्थापना गरेकाले मन्दिरको नाम पनि पाथीभरा रहन गएको भन्ने भनाइ छ । 

See More On

सुझावित समाचार