मुगु-कर्णालीमा बेलिब्रिज बनेसँगै तल्लो हुम्ला मुगुसँग जोडियो

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

संघीय सरकारले अलपत्र पार्‍यो, प्रदेश सरकारले आश्वासन मात्र दियो, तर स्थानीय सरकारले काम पूरा गर्‍यो

स्थानीय सरकारको लगानीमा मुगु कर्णालीमा बेलिब्रिज निर्माण भएसँगै हुम्ला जिल्ला मुगुसँग सडक सञ्जालमा जोडिएको छ  । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु-कर्णाली नदीमाथि बेलिब्रिज राखिएपछि तल्लो हुम्ला र मुगु सडक सञ्जालमा जोडिएका हुन् । 

छायाँनाथ रारा नगरपालिकाका वडा नम्बर १ देखि हुम्लाको चंखेली गाउँपालिकाको देगलीसम्म ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (Rap-3) ले सडक बनाए पनि  मुगु कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीय सडक बनेर पनि यातायातको सुविधा लिनबाट वञ्चित हुँदै आएका थिए । 

करिब ६ करोडको ठेक्का गरेर मुगु हुम्ला लिंक रोडको मुगु कर्णाली नदीमा पक्की पुल बनाउन ठेक्का लगाए पनि प्राविधिक कारण देखाउँदै ठेकेदार पक्षले पेस्की लिएर लामो समयसम्म पुल नबनाई गुमनाम बसेको थियो । यसैबीच, मुगु कर्णालीपारि रहेका छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ र १४ मा सडक बनेर हुम्लासम्म जोडिए पनि कर्णाली नदीमा पुल नहुँदा सडकको सदुपयोग हुन सकेको थिएन । 

संघ र प्रदेश सरकारको आसमा बस्दा  बनेको सडकसमेत जीर्ण हुने अवस्था आएपछि छायाँनाथ रारा नगरपालिकाले  ६ करोड तीन लाख २१ हजार एक सय ५७ लागतमध्ये पाँच करोड २० लाख ५५ हजार नाै सय दुई रुपैयाँमा बेलिब्रिज बनाउने गरी ०७७ पुस २९ गते जलप-रविचक्र जेभी भरतपुर– ८ चितवनको निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । 

सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न गरी आइतबारबाट विधिवत् रूपमा पुलको उद्घाटन गरिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले जानकारी गराए । नगर प्रमुख हरिजंग शाहीले विधिवत् रूपमा पुल उद्घाटन गरेसँगै सवारी तथा मालबाहक साधनहर कर्णालीपारिका बस्ती र हुम्लासम्म चल्ने भएका छन् ।

‘संघ सरकार, प्रदेश सरकारले बनाउला भनेर धेरै आस गरेर बस्यौँ । संघले ठेक्का खोलेको नाै वर्ष बितिसक्दा पनि पेस्की लिएको ठेकदार कता छ पत्तो छैन । प्रदेश सरकारले आश्वासन मात्र दियो । हाम्रो नगर हामीले नै बनाउने हो,’ नगर प्रमुख हरिजंग शाहीले भने, ‘माथिको सरकारको भर पर्ने हो भने विकास सम्भव छैन  । त्यसैले कार्यपालिकाले नै निर्णय गरेर यो पुल बनाउन पाँच करोडभन्दा बढी खर्च  भयो ।’ 

पुल बनेसँगै छायाँनाथ रारा नगरपालिका– १३ र १४ मा फल्ने स्याउ, सिमी, ओखरलगायतका जडीबुटीले बजार पाउने भएको छ । स्थानीयको आयस्तरसमेत बढ्ने वडा नम्बर १३ का वडाध्यक्ष चक्रबहादुर सावदले बताए । 

कृषकले मात्र होइन, पुल बनेसँगै पर्यटन क्षेत्रको पनि विकास हुने अपेक्षा गरिएको छ । पुल नहुँदा कृषि उत्पादनहरू सदरमुकाम गमगढीमा ल्याउन हिँडेर तीन घन्टा लगाउने कृषक पुल बनेसँगै ३०–३५ मिनेटमा गमगढीसम्म पुग्ने भएका छन् । पुल बनेपछि छायाँनाथ रारा नगरपालिकाका वडा नम्बर १३ र १४ तथा हुम्ला जिल्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोट गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।  

सुझावित समाचार