मेलम्चीको पानी चैत अन्तिम सातासम्म काठमाडौं आउने

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

मेलम्चीको पानी चैत अन्तिम सातासम्म काठमाडौं ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । गत १ असार र १५ साउनको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाका संरचना मर्मत गरी चैतसम्म उपत्यकामा पानी ल्याउनका लागि तयारी अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार चैतको अन्तिम सातासम्म काठमाडौंमा पानी ल्याउने योजनाअनुरूप लगभग काम अन्तिम चरणमा पुगेको हो । ‘हामीले हेडवक्र्स सफा गर्ने र बाढीका कारण क्षति पुगेको १, ९ र ३८ नम्बर गेट मर्मत गरिसकेका छौँ,’ प्रवक्ता पन्तले भने, ‘ग्याल्थुमदेखि अम्बाथानसम्मको सुरुङमा अझै केही मात्रामा पानी रहेको छ । त्यसलाई सफा गरेपछि वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने अवस्था छ ।’ उनका अनुसार यही दिन भन्ने टुंगो नभए पनि चैतमै मेलम्चीको पानी फेरि काठमाडौंमा ल्याउने गरी काम भइरहेको छ । 

हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो र पुल हेलम्बु गाउँपालिकाले निर्माण गरिसकेको छ । मेलम्ची बजारदेखि हेडवक्र्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो भने यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति भएको थियो । त्यहाँसम्म पुग्ने ६ वटा पक्की पुल पनि बगाएको थियो । गाउँपालिकाले उक्त सडक तीन करोड लागतमा बनाएको हो । समितिले क्षतिग्रस्त आयोजना पुनर्निर्माणको जिम्मा भने चाइनिज कम्पनी सिनोहाइड्रोलाई नै दिएको छ ।

बाढीले मुख्य संरचना सुरुङ र हेडवक्र्सबाहेकमा पनि क्षति पुर्याएको थियो । निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको थियो । वैकल्पिक पथान्तरण प्रणाली (हेडवक्र्स डाइभर्सन सुरुङ) थुनिएको र पहिरोले आयोजनाको डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको थियो । जसकारण सिन्धुपाल्चोकको किउल, शेर्माथाङ, तिम्बु, सार्केथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा असर गरेको थियो । 

२२ वर्षसम्मको लामो प्रतीक्षापछि गत वर्ष १५ चैतमा मेलम्चीको पानी काठमाडौंका बासिन्दाले प्रयोग गर्न पाएका थिए । दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट आएसँगै उपत्यकावासीले केही हदसम्म भए पनि राहत पाएका थिए । तर, वितरणको तीन महिना नहुँदै बाढीले आयोजनामा क्षति पुर्याएपछि पानीमा सहजता हुँदै गएको उपत्यकावासीको दैनिकी फेरि ट्यांकरको पानीमै भर पर्नुपर्ने अवस्थामा पुगेको थियो ।

मेलम्चीको सुरुङमा अपेक्षाभन्दा धेरै लेदो 
मेलम्चीको सुरुङ खाली गर्दै जाँदा अपेक्षाभन्दा धेरै लेदो भएको भेटिएको छ । तर, लेदो नदीमा पाइनेजस्तो नभई ढुंगा, बालुवा, माटो थिग्रिएर रहेको भएको प्रवक्ता पन्तले बताए । ‘सुरुङमा भरिएको पानी निकाल्ने क्रममा लेदो अपेक्षाभन्दा धेरै नै भेटिएको छ । सुरुङ खाली गर्दै जाने क्रममा लेदो बिस्तारै निस्किरहेको छ । लेदो पूरै निस्किन कति समय लाग्छ भन्न गाह्रो छ,’ पन्तले भने । गत १ असार र १५ साउनमा आएको बाढीका कारण डाइभर्सन सुरुङ र दुईवटा अडिट टनेलको मुख बन्द गरेको थियो । पन्तले समयमै मेलम्चीको पानी काठमाडौं ल्याउन कुनै कसर बाँकी नराखिने बताए ।

See More On

सुझावित समाचार