कांग्रेसले गठबन्धन गरेरै जानुपर्छ : नेतृ कोइराला (भिडियोसहित)

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएकी छिन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेकी नेतृ कोइरालाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो धारणा राखेकी हुन् । गठबन्धनबारे पार्टीभित्र व्यापक छलफल भइरहेको बताउँदै उनले भनिन्, ‘गठबन्धन गरेर जाँदा हामीलाई धेरै नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

कांग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र कमजोर भएको ठाउँमा गठबन्धन गर्ने गरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘गठबन्धनकै कारणले आज कांग्रेसले प्रधानमन्त्री पाएको छ । गठबन्धनकै कारणले मुख्यमन्त्रीहरू पनि हुनुभएको छ । गठबन्धनकै कारणले हामीले राष्ट्रिय सभामा जित्न सक्यौँ,’ कोइरालाले भनिन्, ‘मलाई गठबन्धन छाड्नुहुँदैन भन्ने लाग्छ । गठबन्धनको मोडेलबारे हामीले कार्यतालिका बनाउन सक्छौँ । गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा हो ।’

चुनावको मुखमा पार्टीभित्रको गुट र उपगुटबारे धेरै विवाद गर्न नहुने उनले बताइन् । उनले भनिन्, ‘चुनाव आइसकेको छ । पार्टीभित्रको गुट  र उपगुटलाई लिएर हामीले धेरै विवाद गर्नुहुँदैन । हामीले फेरि गुट र पदका कुरा गर्न थाल्यौँ भने त्यसले चुनावमा नराम्रो असर पार्छ ।’ कांग्रेस जनताको बीचमा लोकप्रिय भएर पनि गुट र उपगुटका कारणले चुनाव हार्ने उनको धारणा थियो । अहिलेको अवस्थामा कांग्रेसले सहमति, सहकार्य र एकता गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।  
 

सुझावित समाचार