अमेरिकी राजदूत अकस्मात् बालुवाटारमा

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौं टेकेकै दिन शुक्रबार बिहान नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आधा घन्टा छलफल गरेका छन् । राजदूत बेरी बिहान पौने ९ बजे बालुवाटार पुगेका थिए । उनीसँगको आकस्मिक भेटका कारण प्रधानमन्त्री देउवा सेनाको पूर्वनिर्धारित कार्यक्रममा केही ढिला पुगेका थिए । 

शुक्रबार बिहान ९:३० मा प्रधानमन्त्री देउवा शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको कार्यक्रममा सहभागी हुने एक साताअघि नै तय भएको थियो । प्रधानमन्त्री देउवालाई स्वागतका लागि प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदु खरेल सवा ९ बजे पुगिसकेका थिए । तर, प्रधानमन्त्री समयमै पुग्न सकेनन् । 

‘प्रधानमन्त्रीलाई भेट्न अमेरिकी राजदूत बेरी आकस्मिक रूपमा बालुवाटार पुगेपछि उहाँ शिवपुरी जान ४५ मिनेटजति ढिलो भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । राजदूत बेरीले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमण र अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल नेपाल आउने विषयमा पनि चासो राखेको बालुवाटार स्रोतले जनाएको छ ।

सुझावित समाचार