अघि बढ्यो दोस्रो जलविद्युत् आयोजना

शनिबार, १२ चैत, २०७८
डिजिटल संस्करण
अघि बढ्यो दोस्रो जलविद्युत् आयोजना

प्रतिकात्मक तस्बिर ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको मिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला पहिलो जलविद्युत् आयोजना बनाएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले सोही आयोजनाको विद्युत्गृहबाट निस्कने पानीबाट अर्को आयोजना बनाउने तयारी गरेको हो।

सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा रहेको परामर्शदाता संस्था इन्भाइरोन्मेन्टल पार्टनर्स प्रालिका शंकर बस्यालले बताए। “मिस्ट्रीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई पाइपलाइन र सुरुङमार्फत घारखोलानजिकैमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्न लागिएको हो,” उनले भने।

मिस्ट्रीखोलाको विद्युत्गृहदेखि पाउद्वार तातोपानी कुण्डभन्दा तलसम्म एक किलोमिटर हेडरेस कल्भर्ट र त्यहाँबाट दुई किलोमिटर ८८.२९ मिटर लामो सुरुङबाट ल्याएको पानी ७३.३७ मिटर उचाइको आउटलेटबाट विद्युत्गृहमा खसालिनेछ। पहाडभित्र भूमिगत विद्युत्गृह बनाइने आयोजनाबाट वार्षिक ६६.४३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। कूल दुई अर्ब १४ करोड ८३ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण अवधि तीन वर्षको हुनेछ। लागतका हिसाबले यो आयोजना सस्तो हुने माउन्टेन इनर्जीका प्रतिनिधि राजेन्द्र शर्माले बताए।

शर्माले तातोपानी कुण्डलाई असर नहोस् भनेर सुरुङको विकल्प खोजिएको बताए । कालीगण्डकी किनारनजिकैबाट घट्टेखोलाको पानी पनि मिस्ट्रीखोला–२ को सुरुङमा मिसाइने भएकाले नारच्याङको सिँचाइ तथा खानेपानीमा असर नपुग्ने उनले बताए। अन्नपूर्ण गाउँपालिका–४, ५, ३ र २ नम्बर वडा आयोजनाबाट प्रभावित हुनेछन्। पाउद्वार तातोपानी कुण्ड संरक्षणका लागि २५ लाख रुपैयाँसहित आयोजना निर्माणका क्रममा हुने वातावरणीय असर न्यूनीकरणका लागि ७८ लाख रुपैयाँ विनियोजन भएको छ । रासस

सुझावित समाचार