स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ : प्रधानमन्त्री देउवा

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका– ९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका कामकारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताए।

‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका कामकारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो।’

वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढिसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने प्रधामन्त्री देउवाले स्पष्ट पारे। चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको उनले बताए।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताए। उनले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधारमन्त्री हुँदा पुल निर्माण गरेको र अरू पुल अहिले पनि निर्माणको क्रममा रहेको बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँचदलीय गठबन्धन कायम रहने बताए। उनले देशलाई प्रतिगमनकारीबाट बचाउन पाँचदलीय गठबन्धन जरुरी रहेको बताए। रासस

सुझावित समाचार