अनाथ बालबालिकाको शिक्षाका लागि अक्षयकोष बनाउन महापुराण

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

अनाथ, असहाय, टुहुरा र जोखिममा परेका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको डिआर मेमोरियल स्कुलले अक्षयकोष स्थापनाका लागि सप्ताहव्यापी महायज्ञ आयोजना गरेको छ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ८ सुन्दरबस्तीमा रहेको स्कुलले आफ्नो खर्च व्यवस्थापनका लागि अक्षयकोष जुटाउन श्रीमदभागवत महापुराण आयोजना गरेको हो। स्कुलको प्रांगणमा यही चैत १३ देखि १९ सम्म हुने महापुराणमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्ने कार्यक्रम रहेको छ।

विद्यालयकी संस्थापक अध्यक्ष राजन विश्वकर्माका अनुसार ०६० सालदेखि निःशुल्क रूपमा अनाथ, असहाय, टुहुरा, जोखिममा परेका तथा द्वन्द्वपीडित बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा आवासीय सुविधा प्रदान गर्दै आएकोमा विद्यालयले दिगो व्यवस्थापनका लागि समुदायमा आधारित भएर अक्षयकोष स्थापना गर्ने उद्देश्यले महापुराणको आयोजना गरेको हो।

महापुराणको चैत १३ गते नेपाली कांग्रेसका महामन्त्री एवं यस क्षेत्रका प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महापुराणका लागि चैत १३ गते बिहान ९ बजे कलशयात्राको कार्यक्रम रहेको छ।

सुझावित समाचार