शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

संविधानमाथि कोही छैन र डेमोक्रेसीभन्दा ठुलो केही छैनः रवि लामिछाने(भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानभन्दा माथि कोही नभएको र प्रजातन्त्रभन्दा ठुलो केही नभएको बताएका छन् । हालै मिडियामा राज्यबाट भएको धरपकडसम्बन्धि विषयमा प्रतिक्रिया दिँदै यस्ता क्रियाकलापमा संलग्नहरू कारबाहीको भागीदार हुनुपर्ने बताएका हुन् ।

पार्टीको सचिवालय बैठकपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठुलो केही छैन, कोही छैन। रास्वपा यसमा स्पष्ट छ। रवि लामिछाने यो कुरामा स्पष्ट छ । 

यसमा कहिल्यैपछि द्विविधा गर्नुपर्दैन । यसभन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्नेछ । त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रूपमा भनिसकेका छौँ।’ 

रास्वपा सचिवालय बैठकका चार निर्णय सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले कात्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनबाट भएका भनिएका गतिविधि संविधान र पार्टीको आदर्शविपरीत रहेको निष्कर्ष निकालेको छ। पार्टीले लोकतान्त्रिक प्रणाली, बहुलवाद र प्रेस स्वतन्त्रतामा सम्झौता नगर्ने जनाउँदै दोषीको पहिचान गरी कारबाही गर्न माग गरेको हो।

त्यस्तै, बैठकले न्यायालयभित्र देखिएका विचलन र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसद्बाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ। रास्वपाले यस्ता घटनाले न्यायालयको निष्पक्षता र गरिमामा प्रश्न उठाएको भन्दै शुद्धीकरणको आवश्यकतामा जोड दिएको छ।

मधेस प्रदेशमा पार्टी संगठन सुदृढ बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको संगठन अडिट प्रतिवेदन, २०८३ अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ। प्रतिवेदनका सिफारिस आवश्यकताका आधारमा कार्यान्वयन गरिने पार्टीले जनाएको छ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल कात्तिकको अन्तिम साता चीन भ्रमणमा जाने भएको छ। भ्रमणको उद्देश्य दुई पक्षीय राजनीतिक संवाद र सम्बन्ध सुदृढ गर्नु रहेको रास्वपाले उल्लेख गरेको छ।

विवादास्पद न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने तयारी

बिचौलियासँग घनिष्ठ सम्बन्ध देखिएका सर्वाेच्च अदालतका न्यायाधीशहरूमाथि महाभियोगको प्रक्रिया अघि बढाउनेबारे छलफल सुरु भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार बसेको सचिवालय बैठकले यस सम्बन्धमा संसदबाट समाधान खोज्ने निर्णय गर्दै यससम्बन्धी प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ। 

सर्वाेच्चका न्यायाधीश हरि प्रसाद फुयाल र थुनामा रहेका बिचौलिया इनम सापकोटाबिचको मुद्दाको विषयमा गरिएको च्याट नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेको थियो। न्यायाधीश फुयालले सो च्याट स्वीकार गरेका छन्। साथै, पटक–पटक उनीसँग भेटे भएको समेत खुलाएका छन्। महाभियोगको त्रास भएको र उनी प्रधानमन्त्रीनिकट व्यक्ति भएकाले आफूलगायत अन्य न्यायाधीशले पनि भेटेको उनको भनाइ छ । 

मिडियामाथि धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

 मिडियामाथि प्रहरीबाट भएको धरपकड घटनाको छानबिन गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई निर्देशन दिएको छ। पार्टी शनिबार बसेको सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो। 

नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी

सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने लक्ष्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

वर्षापछि लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल रद्द

निरन्तरकाे वर्षापछि शनिबार तय लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल रद्द  भएको छ । यो सँगै दुवै टोलीले समान एक अंक बाँडेका छन् ।

कर्मनासा खोलाको पानी इमाडोलकाे बस्तीमा पस्दा जनजीवन प्रभावित (फोटोफिचर)

निरन्तर वर्षाका कारण ललितपुरको इमाडोलस्थित कर्मनासा खोलाको पानी आसपासका बस्तीका सडक तथा घर/टोलमा पसेको छ। यस क्षेत्रमा निरन्तर वर्षा हुँदा सडक तथा बस्तीमा पानी पस्ने समस्या पटक–पटक दोहोरिने गरेको छ।

खोलाको पानी बस्तीमा पस्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको छ भने पैदलयात्री तथा सवारीसाधनको आवागमनमा समेत कठिनाइ भएको छ।

विराटनगरको आक्रामक ब्याटिङ, सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य

 नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको हो।

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात भएको छ । कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने मुख्य सिजनमै निरन्तर हिमपात भएपछि पर्यटन गतिविधि प्रभावित बनेको छ । 

निरन्तर पानी साथै हिउँ परिरहेको छ । सामान्यतया यो समयमा आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ हुने होटेल र पदमार्गमा यसपटक प्रतिकूल मौसमले असर पुर्याएको छ । हिमपातका कारण पदमार्ग हिउँले ढाकिनुका साथै आवतजावत कठिन भएपछि पर्यटकको यात्रा प्रभावित भएको छ ।

बडीमालिका पुगेका दुई पर्यटक शुक्रबारदेखि सम्पर्कविहीन

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका दुईजना पर्यटक शुक्रबारदेखि सम्पर्कविहीन भएका छन्। बडीमालिका माताको दर्शन तथा भ्रमणका लागि पुगेका उनीहरू वर्षासँगै भएको भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनीष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका छन्।

 

सुझावित समाचार