काठमाडौं/ मिडियामाथि प्रहरीबाट भएको धरपकड घटनाको छानबिन गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई निर्देशन दिएको छ। पार्टी शनिबार बसेको सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।
प्रवक्ता जगदीश खरेललले त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीको सन्दर्भमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको बताए। उनी भन्छन्, ‘पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगे, जे–जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्यो, यो विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको पार्टीले सम्मान गर्दै बैठकले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
‘अबका दिनमा प्रेस स्वतन्त्रता हननका घटना अथवा पत्रकार धरपकडका घटना अथवा समाचार लेखेकै आधारमा समाचारकै विषयमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक अथवा प्रसारक अथवा सञ्चारकर्मी पत्रकारले यो खालको स्थिति भोग्नु हुँदैन भन्नेमा रास्वपा स्पष्ट छ,’ प्रवक्ता खरेलले भने।
शुक्रबार प्रहरीले तीन पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका तथा दियो पोस्टको कार्यालयमा धरपकड गरी पक्राउको प्रयास गरेको थियो । जुन घटनाको सर्वत्र निन्दा भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयले त्यसबारे आफूहरूलाई जानकारी नभएको भनेर पन्छिने प्रयास गरेको छ भने प्रहरीले भने प्रधानमन्त्री कार्यालयकै चासोअनुसार पत्रकारलाई कार्यालयमा बोलाएर जानकारी लिइएको जनाएको छ।