रंगमञ्चको रापबाट उदाएका अभिनेता

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

रंगमञ्चमा अनेक पात्र र चरित्रको जमघट हुन्छ। रंगमञ्चमा देखिने अनुहारको पनि कथाको चरित्रजस्तै भविष्य घुमिरहेको हुन्। रंगमञ्च मात्रै नभनौँ मनुष्य जीवन नै कथाका पात्रजस्तै फन्को मारिरहेका हुन्। रंगमञ्चमा आउनेहरू पनि कोही टिक्छन्, कोही टाढिन्छन्। धेरैमध्ये थोरैचाहिँ आफ्नो संघर्ष र सपनाले स्थापित हुन्छन्। अबिराम संघर्षपछि रंगमञ्चमा स्थापित र लोकप्रिय नाम हो, दिव्यदेव पन्त। 

उनको अभिनय हेरेका जो कोहीले दिव्यदेवलाई बिर्सन सक्दैनन्। अझ यसो भनौँ उम्दा प्रस्तुतिका कारण नाटकप्रेमीको मनमा बस्न सफल छन् उनी। ‘ह्यामलेट’, ‘लुक ब्याक इन एंगर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेक्स्ट इयर’ जस्ता नाटकमा अभिनय गरेर दिव्यदेवले आफूलाई अब्बल साबित गरिसकेका छन्। नम्र र शालीन स्वभावका दिव्यदेव १२ वर्षयता रंगमञ्चमा सक्रिय छन्। उनले करिब दुई दर्जनबढी अंग्रेजी नाटकमा समेत अभिनय गरेका छन्। 

दिव्यदेवको नयाँ फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ गतेदेखि उपत्यकासहित देशभरका सिनेमा हलमा प्रदर्शन हुँदै छ। उनको लागि ‘चिसो एस्ट्रे’ खास हुनेछ। जुन निर्माण भएको  ७ वर्षपछि प्रदर्शनमा आउन लागको हो। रंगमञ्चमा आफ्नो अभिनयले दर्शकको मन जितेका उनी ठूलो पर्दामा देखिन लाग्दा  निकै उत्साहित छन्। रंगमञ्चमा दर्शकको मनमा बसेका उनी पर्दामा कत्तिको रुचाइन्छन् त्यो हेर्न बाँकी नै छ।

कतिपय कलाकारहरूको मात्रै त्यो संयोग मिल्छ, जसको जीवन र अभिनय गरेको फिल्म पात्रसँग समानता पाइन्छ। दिव्यदेवको जीवन र फिल्मबीच धेरै कुराहरू मिल्छन्। सिनेमाको कथाजस्तै आफू पनि गाउँबाट काठमाडौं आउँदा ठूलो सपना बोकेर आएको उनले सुनाए। उनी भन्छन्,‘चिसो एस्ट्रेमा मैले निभएको क्यारेक्टर मदनसँग मेरो वास्तविक जीवन मेल खान्छ। यति मात्रै हो, सिनेमा मदनले अंग्रेजी र नेपाली बोल्न सक्छ। मलाई काठमाडौं आउँदा अंग्रेजी र नेपाली दुवै बोल्न गाह्रो थियो। यसकारण पनि सिनेमा मेरो भूमिकाको क्यारेक्टरउस्तै छ।’ 

उनले सात वर्षपछि आफ्नो अभिनय पर्दा हेर्दै छन्। उनलाई धेरै उत्साह, अलिकति डर पनि छ। आफ्नो खास अभिनय क्षमता प्रस्तुत गर्न पाएका थिएनन् त्यतिवेला। यो बीचमा उनको अभिनय कला अझ खारिएको छ। 

उनी भन्छन्, ‘अहिलेसम्म ६ वटा फिल्ममा अभिनय गरिसकेको छु। कतिपय रिलिज हुन बाँकी छन्। तर चिसो एस्ट्रे मेरो करिअरको एउटा माइलस्टोन हुनेमा विश्वस्त छु।’ उनको गहकिलो स्वर दिव्यदेवको विशेषता हो। नाटकमा उनले सबैभन्दा बढी प्रशंसक आवाजबाटै कमाएका छन्। यसकारण पनि नाटकमा दिव्यदेवको अभिनय औसतभन्दा फरक छ।

उनी अहिले थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टको बायोपिक 'रुदाने'को चरित्रका कारण अहिले उनी चर्चामा छन्। रुपचन्द्रको विद्रोह, राजनीति र संघर्षमय जीवनीमा भूमिका निभाएका उनको सिनेमा प्रदर्शनअगावै चर्चा चुलिएको छ।

उनी भन्छन्, ‘नाटकमा मैले विभिन्न चरित्र निर्वाह गरेको छु। मेरो व्यक्तित्वलाई सुहाउने भूमिका दिइएको छ। मैले आफ्नो चरित्रलाई न्याय गरेको कुरा दर्शकहरूको मन जितेको छु। तर सिनेमाको पर्दामा देख्न पाउनु भएको छैन। मलाई  अभिनयमा विश्वास भएकोले म आशावादी पनि छु।’ राम्रो कथावस्तु पाए सिनेमामा काम गर्ने सोच छ, दिव्यदेवको। 

उनी भन्छन्, ‘सही समयमा सही मान्छेहरूको संगतमा परेँ जस्तो लाग्छ। त्यसैले पनि आज रंगमञ्चमा रमाउन सफल छु। मेरो श्रीमती र परिवारको सहयोगले गर्दा पनि आज अभिनय यात्रा गरिहेको छु।'  '

सुझावित समाचार