दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किएर परिवारसँग चाडपर्व मनाउन नपाउने नेपालीको पीडा गीतमा समेटिएको छ ।

दसैँ नेपालीको महान् चाड हो । परिवारका सदस्य एकै ठाउँमा भेला भएर टीका, जमरा लगाउने र खुसी साटासाट गर्ने परम्परा छ । तर, रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीका लागि दसैँ सधैँ खुसीको पर्व बन्न सक्दैन । घर फर्किन नपाउँदाको दुःख, परिवारको सम्झना र परदेशको बाध्यतालाई गीतले उजागर गरेको छ ।

गायक गौतमको स्वरमा रहेको गीतको म्युजिक भिडियो बडादसैँको फूलपातीको अवसर पारेर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । रवि श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा सञ्जय श्रेष्ठले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोको निर्देशन सीताराम कट्टेल ‘धुर्मुस’ र रवि श्रेष्ठले गरेका हुन् ।

भिडियोमा दीपकराज पाठक र सीतादेवी तिमल्सेनाको अभिनय रहेको छ । राजु केसी र अमृत सुनुवारले छायांकन रहेको गीतको भिडियोले परदेशमा रहेका नेपालीको दसैँसँग जोडिएको भावनात्मक कथालाई प्रस्तुत गरेको छ । गीत र म्युजिक भिडियोको निर्माण अमिता श्रेष्ठ गौतमले गरेकी हुन् । 

दसैँको उल्लाससँगै घरपरिवारबाट टाढा रहनुपर्दाको पीडा समेटिएको यो गीतले विदेशमा रहेका नेपालीलाई आफ्नै जीवनका अनुभूतिसँग जोड्ने विश्वास गायक गौतमले लिएका छन् ।

सुझावित समाचार