राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छिन् ।
फागु पूर्णिमा (होली) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै राष्ट्रपतिले यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामर्थ्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सदभाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखर रूपमा अभिव्यक्त गर्दछ, अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलित रूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिले सन्देशमा व्यक्त गरेकी छिन् ।