बाबुराम भट्टराईको विश्लेषण : कांग्रेस र एमालेमा ‘ब्राण्ड’को मात्रै भिन्नता, माओवादी केन्द्र अवसरवादी

शनिबार, २८ फागुन, २०७८
डिजिटल संस्करण

जनता सामाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको संघीय परिषद बैठकमा राजनीतिक दस्तावेज पेश गरेका छन्। उनले पेश गरेको दस्तावेजमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिदेखि पार्टीभित्रका विषय समेटिएको छ। 

दस्तावेजमा उनले दलहरुको विश्लेषण गर्दै नेपाली कांग्रेस र नेकपा एमाले उस्तै भएको बताएका छन्।  कांग्रेस र एमालेमा कम्युनिस्टको ब्राण्ड बाहेक नीतिमा भिन्नता पाउन गाह्रो भएको विश्लेषण छ। ‘कांग्रेस र कम्युनिस्टको ब्राण्ड नाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो छ। कांग्रेस र एमाले एउटै सिक्काका दुई पाटा जस्तै हुन’, उनले भनेका छन्।

एमाले मूलतः बहुदलीय जनवादमार्फ्त नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रुपान्तरण भएको उनले बुझाई छ। दुबै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेको समेत उनले दस्तावेजमा उल्लेख गरेका छन्। 

दुबै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिएको डा. भट्टराईको बुझाई छ। 

कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न नसकेको बुझाई उनको छ। सघंवाद र समावेशी लोकतन्त्रलाई अझ जीवन्त, ठोस र मूर्त बनाउने जनताको चाहना र प्रयासमा कांग्रेसले अवरोधको काम गरिरहेको भट्टराईले बताएका छन्। लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग जसपाको सहकार्य हुन सक्ने उनले बताएका छन्। 

उनले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरु एउटै पेन्सिलका फरकफरक टुक्रा मात्रै भएको दस्तावेजमा उल्लेख गरेका छन्।  तात्कालिक विचार, कार्यनीति र कार्यदिशाका दृष्टिकोणले यिनीहरु बीच केही भिन्नता रहेको उनले स्वीकारेका छन्। औपचारिक रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलक विचारधारा माओवादी केन्द्रसँग बाँकी नरहेको उनको बुझाई छ। 

उनले एमाले बहुदलीय जनवादमार्फ्त नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रुपान्तरण भएको विश्लेषणा गरेका छन्। ‘उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिन्छ’, उनले भनेका छन्,  ‘तर, यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको छ। एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो। बाँकी प्रश्नमा भने माओवादी झनै अनुदार, सङ्कीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रुपमा देखिएको छ।‘

माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक भन्ने अझै प्रष्ट भइनसकेको उनले बताएका छन्। केपी शर्मा ओलीको असंवैधानिक संसद विघटनसँग विमति राखेको एमालेबाट फुटेको दल भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रुपमा एमालेको जस्तै भएको उनको बुझाई छ। 

‘यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भबिष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्दछ। सोही बमोजिम कुन हदसम्म सहकार्य गर्न सकिन्छ वा सकिँदैन, निर्णय गर्दै जानु पर्ने हुन्छ’, भट्टराईले भनेका छन

एमसिसीमा एमाले, माओवादी र एसको द्वैध चरित्र
एमसिसी प्रकरणमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चरम अस्थीरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको उनले बताएका छन्।

‘देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वासनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरे’, उनले भनेका छन्, ‘जनता र विश्वको आँखामा आफैलाई अविश्वासनीय र नाटकी सिद्ध गरे।‘

उनले नेपालका कम्युनिस्ट समूहहरुसँग कुनै आशा, अपेक्षा र भरोसा राख्न नसकिने बताएका छन्। आफै भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्न नसक्ने भट्टराईको बुझाई छ। 

कम्युनिस्ट समूहहरुबाट सन्तुलिन अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको सम्बोधन सम्भव नभएको उनको बुझाई छ। ‘नत यिनीहरुसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै छ। सरकारमा भएका बेला यिनीहरुले पनि आसेपासे पुँजीवाद, भ्रष्टाचार, कमिशनखोरीकै अभ्यास गर्दै आएका छन्’, भट्टराईले भनेका छन्। 

साना दल अस्तित्वको संकटमा
उनले साना पार्टीहरु विचार र शक्ति दुबै दृष्टिकोणले अस्तित्व संकटको अवस्थामा रहेको विश्लेषण गरेका छन्। विवेकशील–साझा पार्टी र यसका विभिन्न समूहहरु पनि देशको राजनीतिमा क्रियाशील रहेपनि यी समूहहरु विचार र शक्ति दुबै दृष्टिकोणले अस्तित्व संकटको अवस्थमा देखिएको उनको बुझाई छ। 

विवेकशी साझाभित्रको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको उनको उल्लेख गरेका छन्। त्यहाँभित्र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवा त्यस्तो अवसरवादी फन्कोबाट असन्तुष्ट र निरास भएको उल्लेख गर्दै उनले यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूलबाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोतको विश्लेषण गरेका छन्। उनीहरुसँग संवाद र सहकार्य गर्न सकिने भट्टराईको बुझाई छ। 

सिके राउत नेतृत्वको जनमत पार्टीको वास्तविक राजनीतिक अभिष्ट के हो भन्ने प्रष्ट नभएको उनले बताएका छन्। जनमत पार्टीले जसपा र मधेश सरकार विरुद्ध अनेक अबान्छित र झुठा प्रोपागण्डा गरेको बताउँदै त्यसको दृढतापूर्वक प्रतिवाद गर्नुपर्ने भट्टराईले बताएका छन्।
 

सुझावित समाचार