नेविसंघमा नेतृत्वको चर्चा : बल्झियो उमेरहद, आकांक्षी को–को ?

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा आकांक्षीहरूको चर्चा चुलिएको छ। फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै नेविसंघको नेतृत्वमा आउने सम्भावितको चर्चा सुरु भएको हो। गत फागुन ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन हुन नसकेका नेविसंघसहित १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठनको निर्णय गरेको थियो। 

बैठकले निर्णयका क्रममा नेपाल तरुण दल र नेविसंघमा उमेरहद कार्यान्वयन गर्ने निर्णयसमेत गरेका थियो। विधानमा नेविसंघको हकमा ३२ वर्षे उमेरहद कायम गरिएको छ। कार्यसम्पादन बैठकले आवश्यक परामर्श गरी तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। 

पछिल्लो समय सभापति देउवाले तदर्थ समिति गठनका लागि परामर्श गरिरहेका छन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति देउवाले यसबारे परामर्शमा छन्। कार्यसम्पादन बैठकले सभापतिलाई अधिकार दिएकाले कसलाई समेट्ने भन्ने विषय सभापतिलाई नै जानकारी हुने उनले बताए। ‘तदर्थ समिति बनाउने अधिकार सभापतिलाई छ। उहाँले आवश्यक परामर्श गरिरहनुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘फागुन मसान्तभित्र तदर्थ समिति बन्छ।’

देउवानिकट स्रोतका अनुसार सभापति देउवाले उमेरहद लागू भए पनि निर्वाचनका समयमा असन्तुष्टि कम गर्न ३२ वर्षभन्दा कम र बढी दुवै उमेर समूहकालाई समेटेर जम्बो तदर्थ समिति बनाउने तयारी गरिरहेका छन्। 

तदर्थ समितिको नेतृत्वमा ३२ मुनि वा माथि कस्तो ल्याउने यकिन भइसकेको छैन। तर, जस्तो कमिटी बनेपनि ३२ मुनि र माथिका नेतृत्व गर्न चाहने आकांक्षीहरू धेरै देखिएका छन्। ३२ माथिको आए यसअघिको कार्यसमितिमा रहेका सबै पदाधिकारीले समेत दाबेदारी गर्ने पक्षमा छन्। यससँगै तदर्थ समितिमा संस्थापन र इतर समूहबाट विद्यार्थी नेताहरूको नाम चर्चामा आउन थालेको छ। 

को–को छन् आकांक्षी ?
हाल सभापतिमा चर्चामा रहेका नामहरूमा संस्थापन समूहबाट  हिमांक भण्डारी,डुजाङ शेर्पा, प्रेमराज जोशी, प्रेम शाही ठकुरी, सुमन केसीलगायतका विद्यार्थी नेताहरू छन्। ३२ वर्षभन्दा माथिको सभापति हुने अवस्था आएमा संस्थापनबाट  सरोजकुमार थापा, पुष्पकुमार शाही, महेश्वरी कुँवरको पनि दाबी छ। संस्थापनबाटै दीपेन्द्रराज जोशी पनि लबिङ गरिरहेका छन्।

त्यस्तै, नेता कृष्णप्रसाद सिटौलानिकट विद्यार्थी नेता सुशील भट्ट र नवराज त्रिपाठीको नाम पनि नेविसंघ सभापतिको रूपमा चर्चामा रहेको छ। 

यस्तै, संस्थापनइतर समूहबाट अध्यक्षमा सागर परियार, शिव रिमाललगायतको नाम चर्चामा छ। त्यस्तै, नेविसंघको नेतृत्वमा छात्रा ल्याउनुपर्ने माग पनि उठेको छ। महिला नेतृहरूले पनि  आफूहरूलाई नेतृत्व दिन दबाब दिइरहेका छन्। 

महिला नेतृत्वको नाम चर्चामा रहनेहरूमा पूर्वकेन्द्रीय सदस्यहरूमा संस्थापनबाट गीता गुरुङ र पुनम भट्ट भट्टराई छन्। संस्थापनइतरबाट प्रेमिका रानामगर र एलिजा ढकालको दाबी छ। 

महामन्त्रीमा पनि आकांक्षीका रूपमा नेताहरूले आफूलाई प्रस्तुत गर्न थालेका छन्। संस्थापनबाट महामन्त्रीमा नारायण पाण्डे, पदम भट्टलगायले दाबी गरिरहेका छन्।  संस्थापनइतर समूहबाट ताराबहादुर थापा, भुवन भट्ट, पुनम गन्दर्भले आफूलाई महामन्त्रीको आकांक्षीको रूपमा प्रस्तुत गरेका छन्। 

तदर्थ समिति गठनमा ३२ वर्षे उमेरहद विवाद
नेविसंघको तदर्थ समिति गठनमा उमेरहदको विवाद देखिएको छ। केन्द्रीय समिति विघटन गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै ३२ वर्षे उमेरहदको विवाद देखिएको हो। देउवानिकट स्रोतका अनुसार उनले ३२ वर्ष  पार गरेकालाई पनि तदर्थ समितिमा समेट्न खोजेका छन्। 

०७३ मा भएको ११औँ महाधिवेशनबाट नैनसिंह महर सभापति निर्वाचित भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन। महरले समय सकिएपछि ०७५ माघ २ मा राजीनामा गरेका थिए। 

त्यसयता निर्वाचनका लागि तदर्थ समिति गठन भए पनि महाधिवेशन हुन सकेको छैन। लामो समय महाधिवेशन नहुँदा नेविसंघको राजनीतिमा क्रियाशील ३२ वर्ष उमेरहद काटेकाहरूको राजनीतिक भविष्यलाई समेत नेतृत्वले समेट्नुपर्ने दबाब पनि नेतृत्वसामु छ। 

समयमा महाधिवेशन नहुँदा कांग्रेस भ्रातृ संस्थाबाट उत्पादन हुने नेतृत्व डम्प हुँदै आएको विद्यार्थी नेताहरू बताँउछन्। यही विषयलाई लिएर विद्यार्थी नेताहरूसमेत विभाजित बनेका छन्। 

नाम चर्चामा रहेका विद्यार्थी नेताहरू विधानअनुसार ३२ वर्षे उमेरहद नै लागू हुनुपर्ने पक्षमा रहेको छन्।     

केन्द्रीय नेताहरूको दुईथरी चरित्र 
तदर्थ समितिको विषयलाई लिएर पदाधिकारी तहका नेताहरूले नै दुईथरी चरित्र देखाउने गरेका छन्। एक केन्द्रीय सदस्यका अनुसार नेताहरूले भ्रातृ संगठनको विषय लिएर जाने नेता–कार्यकर्तालाई सोहीअनुकूलको आश्वासन दिने गरेका छन्। 

‘भ्रातृ संगठनको विषय लिएर जाने नेता–कार्यकर्तालाई केन्द्रीय नेताहरूले नै उमेरहद पार गरेकालाई पनि तपाईंहरू मर्कामा पर्नुभएको छ, हामी बुझ्छौँ तपाईंहरूलाई पनि समेट्छौँ भन्ने गरेका छन्,’ एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने, ‘उमेरहद कायम गर्नुपर्छ भन्ने माग लिएर जानेहरूलाई पनि नेतृत्वले तपाईंहरूकै लागि त हामीले यो व्यवस्था गरेका हौँ भन्ने जवाफ दिएर पठाउने गरेका छन्।’ 

३२ वर्षमाथिकालाई नसमेटे अनशनको चेतावनी  
नेविसंघसम्बद्ध विद्यार्थी नेताहरूले तदर्थ समिति बनाउँदा ३२ वर्षभन्दा तल र माथि दुवैलाई समेट्न माग गर्दै विजय महतोलगायतका विद्यार्थी नेताहरूले पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।  

माग सम्बोधन नगरे अनशन सुरु गर्ने उनीहरूको चेतावनीसमेत छ। उनीहरू लामो समय महाधिवेशन नहुँदा मर्कामा परेकाले सबैलाई समेट्नुपर्ने बताउँछन्। फागुन मसान्तभित्र तदर्थ समिति बनाउने छलफल सुरु भएसँग उनीहरूले नेतृत्वलाई दबाब दिइरहेका छन्। 

३२ वर्षे उमेरहद कार्यान्वयनका लागि अनशन बसेका नवराज त्रिपाठी भन्छन्– पार्टीकै निर्णय कार्यान्वयन हुँदैन भन्ने म्यासेज जानुहुँदैन

विधानअनुसार नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने माग गर्दै आएका नेविसंघ पूर्वकेन्द्रीय सदस्य त्रिपाठी विधानअनुसार नै तदर्थ समिति बन्नुपर्ने बताउँछन्। उनी उमेरहद कार्यान्वयनमा नआउँदा संगठन गतिशील हुन नसकेको र नेविसंघमा केही बनौँला कि भन्दै उमेर खेर पाल्नुपर्ने बाध्यताबाट युवा नेताले मुक्ति पाउने भएकाले विधानसम्मत तदर्थ समिति बन्नुपर्ने बताउँछन्। 

०७६ मा सभापति देउवाले राजीव ढुंगानाको नेतृत्वमा नेविसंघको तदर्थ समिति गठन गर्नुअघि समेत दबाब दिन त्रिपाठीको नेतृत्वमा विद्यार्थी नेताहरू कांग्रेस पार्टी कार्यालय सानेपामा ४६ दिनसम्म रिले अनशन बसेका थिए। 

उनी विधानअनुसार नेविसंघको नेतृत्व चयन गर्नुपर्ने भन्दै ५ दिनसम्म आमरण अनशनसमेत बसेका थिए। उनी तत्कालीन समयमा तदर्थ समितिमा उमेरहद लागू नहुने नेताहरूले बताएको स्मरण गर्छन्। 

तर, अहिलेको सन्दर्भमा कार्यसम्पादन समितिले नै यसबारे निर्णय गरेको उनको भनाइ छ। ‘त्यतिवेला तदर्थ समितिमा उमेरहद लाग्दैन भनियो, तरअहिले त कार्यसम्पादन समिति बैठकले नै उमेरहद लगाउने निर्णय गरेको छ, त्यो निर्णय हुबहु कार्यान्वयन हुनुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसैले संगठनलाई गतिशीलता दिन्छ।’  

उनी दुई वर्षअगाडिको विधानअनुरूप ३२ वर्ष उमेरहद कायम गरी तदर्थ समितिका लागि सत्याग्रहको सान्दर्भिकतालाई पार्टीले महसुस गरेको प्रतिक्रिया दिन्छन् ।
 

सुझावित समाचार