नेप्से परिसूचक ५२ अंकले बढ्यो

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो दुई हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। आज नेप्से ५२.३१ अंकले बढेर दुई हजार ५६६.९० बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.३४ अंकले बढेको छ।

आज कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता सेयर दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। नेप्से परिसूचक ५० अंकभन्दा बढीले बढे पनि कारोबार रकममा भने खासै सुधार भएको छैन। बुधबार पनि दुई अर्ब ३५ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको थियो।

काराेबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०६ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक ४.७९ प्रतिशत, जलविद्युत् ४.१२ प्रतिशत र लगानी ४.२ प्रतिशत बढेको छ।  व्यापार, निर्जीवन बिमा र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।

बिहीबार कारोबारमा आएको इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभ्लाेपर्स, प्रोग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।  

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर खरिदबिक्री  गरेर अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। नेपाल टेलिकम र एनआइसी एसियाको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

सुझावित समाचार