महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरूलाई पुर्याउनुपर्ने बताएकी छिन्। राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भए मात्र मुलुकको विकास हुने उनले उल्लेख गरिन्।
महिला दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले अझै पनि घरघरमा महिलामाथि कुनै न कुनै प्रकारको हिंसाका घटना भइरहेको भन्दै घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्ने बताइन्।
‘राज्यका संरचनामा, नीति निर्माण गर्ने ठाउँमा महिला र पुरुष बराबरी हैसियतमा पुग्छन्, अनि मात्रै मुलुकको विकास हुन सक्छ। अहिले पनि कता–कता पितृ सत्ता हाबी छ। यद्यपि राजनीतिक दृष्टिकोणले प्रतिनिधित्वको हिसाबले गरेको उपलब्धि, उपलब्धि हो। त्यो उपलब्धि धेरै विकसित देशभन्दा हामी अगाडि छौँ। तैपनि नेतृत्वको खाँचो छ। यो प्रतिनिधित्वको जगमा महिलाहरूको नेतृत्व नीति, निर्माण गर्ने ठाउँमा प्राप्त गर्न अब जरुरी छ,’ उनले भनिन्।
महिलाले समान अधिकार नपाएसम्म समाजको विकासको कल्पना गर्नु भनेको गलत भएको उनले भनाइ छ। राजनीतिक नेतृत्वमा महिला प्रतिनिधित्वको आवश्यकता रहेको उनले औँल्याइन्।
मन्त्री रेग्मीले महिलाहरूको आर्थिक जीवनस्तर माथि उठाउनुपर्नेमा जोड दिइन्। पुरुष मानसिकतामा परिवर्तन नभएसम्म महिला हिंसा अन्त्य हुन असम्भव रहेकाले आगामी दिनमा महिला हिंसाविरुद्धको अभियानमा पुरुषलाई पनि सहभागी गराउनुपर्ने उनले बताइन्। महिलालाई उद्यमशील बनाउन सरकारले कार्यक्रम सञ्चालन गर्ने पनि मन्त्री रेग्मीले बताइन्।