भवन बनाउनका लागि छानिए ८९ विद्यालय

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ शिक्षा तथा खेलकुद मन्त्रालयले भौतिक पूर्वाधार निर्माणका ८९ सामुदायिक विद्यालय छनोट गरेको छ । दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत गर्ने विद्यालयमध्येबाट देशभरका १०९ वटालाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तार गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये पहिलो चरणमा मधेशका ३३, लुम्बिनीका २१, कोशीका १८, गण्डकी र सुदूरपश्चिमका ६/६, कर्णालीका ३ र बागमतीका २ विद्यालय छन् । १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि चालू आवमा कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीनतले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए । 

‘पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरी अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ । प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ,’ मन्त्री पोखरेलले भने, ‘यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’

पहिलो चरणमा निकासा भएको ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन् । मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशका विद्यालय परेका छन् । लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्, जसमा रुपन्देहीका ८ र दाङका ६ वटा विद्यालय समावेश छन् ।

त्यस्तै, कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन्, जहाँ झापा र मोरङका ६–६ वटा सहितका विद्यालय सूचीकृत छन् ।सुदूरपश्चिम प्रदेशका ६ वटा विद्यालय (कैलालीका ३, कञ्चनपुर, दार्चुला र बाजुराका १–१ वटा) यस योजनामा परेका छन् । गण्डकी प्रदेशका ६ वटा विद्यालय (कास्कीका ३, नवलपरासी पूर्वका २ र तनहुँको १) छनोट भएका छन् भने कर्णाली प्रदेशका ३ वटा विद्यालय (सुर्खेतका २ र जुम्लाको १) परेका छन् ।
 

सुझावित समाचार