१३ वर्ष ढिला गरी बन्चरेडाँडा ल्यान्डफिल साइट सम्पन्न हुने चरणमा

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण
  • फोहोर खसाल्न ‘सेल वान’ तयार, ‘सेल टु’ अन्तिम चरणमा
  • बाँध (ड्याम) निर्माण ९० प्रतिशत सम्पन्न

काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाहरूको फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङमा निर्माणाधीन बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटको सम्पूर्ण निर्माण कार्य चैतमा सकिने भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोलीले गरेको स्थलगत भ्रमणमा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले चैतभित्रै सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । योजनाअनुसार काम भएको भए साइट निर्माणको काम १३ वर्षअघि (सन् २००९) नै सम्पन्न भइसक्थ्यो । आयोजना सन् २००७ मा सुरु गरी सन् २००९ भित्र निर्माण सम्पन्न गर्ने गरी विस्तृत ‘डिजाइन’ गरिएको थियो । तर, थालनीमा घोषणामै सीमित रहेको योजनामा बल्ल आठ वर्षअघि (आर्थिक वर्ष ०७१/७२) मात्र नियमित बजेट विनियोजन भई काम थालिएको हो । अझ यो आयोजना निर्माण गर्ने सरकारको निर्णय सन् २००५ (जेठ ०६२) मा नै भएको थियो ।  

दुवै ठेक्का चैतभित्र सम्पन्न गरिने
आयोजनाअन्तर्गत दुईवटा ठेक्का छन् । त्यसमध्ये बाँध निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक सीताराम श्रेष्ठले १६ चैतसम्म जिम्मेवारी पूरा गर्ने बताए । ‘अहिलेसम्म भौतिक प्रगति ९० प्रतिशत भइसकेको छ,’ उनले भने । कम्पनीले आयोजना चैत ०७६ मा ठेक्का सम्झौता गरी निर्माण थालेको हो । कम्पनीले भ्याटसहित ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लिएको हो । ‘अहिलेसम्म ३५ करोड भुक्तानी भइसकेको छ भने अन्यको बिल तयार गर्न बाँकी छ,’ उनले भने, ‘ड्यामको काम लगभग सकिने अवस्थामा पुगेको छ ।’

आयोजनाअन्तर्गत दुईवटा सेल निर्माण गरिँदै छ । त्यसमध्ये पहिलो सेलको निर्माण कार्य सम्पन्न भई फोहोर विसर्जनका लागि योग्य भइसकेको सडक विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले जानकारी दिए । सेल भन्नाले फोहोर खसाल्नका लागि बनाइएको स्थान हो । 

सेल निर्माणका लागि लुम्बिनी, कोसी र न्यौपाने जेभीले ठेक्का पाएका छन् । जेभीका इन्जिनियर लक्ष्मण बानियाँले दोस्रो सेल सम्पन्न गरी प्रयोग गर्न एक महिना लाग्ने जानकारी दिए । जेभीले ३४ करोड ६८ लाखमा दुईवटा सेल निर्माणको ठेक्का सम्झौता गरेको हो । सहरी विकास मन्त्रालयले ०७७ भित्र ल्यान्डफिल साइटको काम सक्ने गरी २२ वैशाख ०७६ मा ठेक्का दिइएको हो । तर, पछि म्याद थपियो । ‘दोस्रो सेलको भौतिक निर्माण प्रगति ८० प्रतिशत पुगेको र चैत मसान्तसम्मा सम्पन्न गरिनेछ,’ इन्जिनियर बानियाँले भने । 

पहिलो सेलभन्दा दोस्रो सेल डेढ गुणा ठूलो
पहिलो सेलभन्दा दोस्रो सेल डेढ गुणा (१ दशमलव ५ गुणा) ठूलो रहेको सडक विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ । ‘पहिलो सेलमा काठमाडौं उपत्यकाबाट जाने फोहोरलाई पाँच वर्षसम्म खसाल्नका लागि पर्याप्त हुनेछ,’ महानिर्देशक मैनालीले भने । दोस्रो सेलमा भने १५ वर्षका लागि पुग्ने क्षमता छ । यसरी कुल २० वर्षका लागि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिन्छ । तर, फोहोरको प्रकृतिअनुसार वर्गीकरण गरेर व्यवस्थापन गर्ने हो भने सय वर्षसम्म पुग्ने विभागको भनाइ छ । 

काठमाडौं उपत्यकाबाट दैनिक न्यूनतम आठ सयदेखि अधिकतम एक हजार टनसम्म फोहोर निस्कन्छ । दैनिक सरदर एक सय ५० ट्रकले फोहोर ओसार्ने गरेका छन् । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट निर्माणको कुल क्षेत्रफल एक सय चार रोपनी हो । पहिले सेल करिब ४२ रोपनी र दोस्रो सेल ६२ रोपनीमा निर्माण भइरहेको छ । आयोजनाले लिएको कुल जमिनको क्षेत्रफल भने एक हजार सात सय ९० रोपनी छ । निर्माणको काम सम्पन्न भए पनि मन्त्रालयले महानगरलाई आयोजना जिम्मा दिनेछ । मन्त्रालयले अहिले नै सेल वान प्रयोग गर्न अनुमति दिइसकेको छ ।

के छन् स्थानीयका माग ? 
ल्यान्डफिल साइट निर्माण क्षेत्रमा पर्ने धुनीबेँसी नगरपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर तामाङले सिसडोलमा फोहोर व्यवस्थापन राम्रो नहुँदा फोहोर र मानिस सँगै बस्न नसक्ने अवस्था सिर्जना भएको दुखेसो पोखे । ‘त्यसलाई व्यवस्थापन नगरी फोहोर फाल्न गाह्रो छ,’ उनले भने, ‘सडक निर्माण गर्नुपर्‍यो, टिपरमा होइन, फोहोर नै बोक्ने गाडी प्रयोग गर्नुपर्‍यो ।’   

धुनीबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले सडक अत्यन्त खराब अवस्थामा रहेको बताए । उनले भने, ‘नागरिकको सुरक्षाका लागि पर्याप्त काम भएका छैनन् । पशुको अस्पताल हुने भनिएको थियो, अहिलेसम्म छैन । पशु बिमा भएन । खानेपानी र शिक्षाको सहयोग गरिएको छैन ।’ जग्गा अधिग्रहणका विषयमा समेत नुवाकोट र धादिङतर्फ पक्षपात गरिएको उनको भनाइ छ । फोहोरमैला प्रभावितलाई कुनै न कुनै सहुलियत दिन, फोहोरलाई छोपेर ल्याउने व्यवस्था गर्न बालीको बिमा गर्नुपर्ने उनको माग छ । धुनीबेँसी–२ का स्थानीयवासी रामकुमार ओझाले स्थानीयलाई असर नगर्ने र समस्या नआउने गरी आयोजना सञ्चालन होस् भन्ने चाहेको बताए । ‘अहिले फोहोर व्यवस्थापन गरिएको ओखरपौवामा गन्हाउने गरेकाले पनि त्यस्तै समस्या नयाँ ठाउँमा नआओस् भन्ने छ,’ उनले थपे । 

समयमै काम सम्पन्न गर्नका लागि कामदारको संख्या वृद्धि गर्न र तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री झाँक्रीले निर्देशन दिइन् । ‘चैत १६ सम्ममा सम्पूर्ण काम सम्पन्न गर्नुपर्छ,’ उनले भनिन् । 

कामदार बढाउन र छिटो सक्न मन्त्रीको निर्देशन 
स्थलगत भ्रमणका क्रममा सहरी विकासमन्त्री झाँक्रीले निर्माण सामग्री ढुवानी, गरेको कामको भुक्तानी वा अन्य सामाजिक समस्या भए सहजीकरण गर्ने, तर तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन् । मन्त्री झाँक्रीले काठमाडौं महानगरले सहरी विकास मन्त्रालयलाई फोहोर फाल्नका लागि ठाउँ उपलब्ध नगराएको भन्ने आरोप निराधार रहेको बताइन् । ‘सेल वानमा फोहोर खसाल्नका लागि तयारी अवस्थामा रहेको र अनुमतिसमेत दिइसकेको छ,’ उनले भनिन् ।  

सुझावित समाचार