नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने वा नहुने विषयमा गठबनधनभित्र छलफल भइनसकेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने बताए ।
उनले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको बताए । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लािग सरकार अघि बढिसकेको बताए ।
‘गठबन्धन सरकारमा बसेका दलहरूले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ । अब स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि, स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यावहारिक हुन्छ र विधानतः पनि त्यो सम्भव हुँदैन,’ प्रवक्ता महतले भने, ‘त्यसकारण स्थानीय आवश्यकताहरूलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरू पनि हुन सक्दछ । कतिपय ठाउँहरूमा दलहरूले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर, समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन ।’ आवश्यकताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाइदा गर्छ भन्ने सिद्धान्तमा सम्पूर्ण कुरा निर्भर गर्ने र गठबन्धनका हरेक दलहरूले दलभित्र त्यसको मूल्यांकन गरेर निचाेडमा पुग्ने उनकाे धारणा थियाे ।
प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा लिएर संसद् सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद् सुचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा राखे । चालू अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको भनाइ थियो ।
प्रवक्ता महतले एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले संवादलाई निरन्तरता दिने बताए ।