सभामुखमाथि अनावश्यक लाञ्छाना लगाएको भन्दै सभामुखको सचिवालयले आपत्ति जनाएको छ । पूर्वाग्रहका आधारमा सभामुखमाथि अफवाह फैलाउन खोजिएको भन्दै सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बुधबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
नेकपा एमालेले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुखमाथि विभिन्न आरोप लगाएको थियो । एमालले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘संसदमा माननीय सदस्यहरूको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसिसीसम्बन्धी प्रस्ताव टेबुल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो । षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनुभयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ ।’
सभामुख सचिवालयले एमालेको उक्त भनाइप्रति आपत्ति जनाएको हो । प्रेस सल्लाहकार न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सम्माननीय सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ । उहाँले बोलेको भनी प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धितपक्षको ध्यानाकर्षण गराउँछौँ ।’
राजनीतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न समेत सभामुख सचिवालयको आग्रह छ ।