उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंकले हेफर प्रोजेक्ट नेपालको सहयोगमा पाल्पाका तीन स्थानीय तहसँग सम्झौता गरेको छ । बैंकले तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकासँग सम्झौता गरेको हो । सम्झौतामा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी र तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले हस्ताक्षर गरेको जनाइएको छ ।
हस्ताक्षर कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ बैंकले पहल लिएको बताए । यो सम्झौता कोसेढुंगा साबित हुने र स्थानीयस्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रूपान्तरणमा सहयोग गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा ठूलो टेवा पुग्ने बताए । कृषि तथा पशु उद्यमशीलताको मूल्य शृंखलालाई अझ मजबुत बनाउँदै हेफर इन्टरनेसनले यस सम्झौतापत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तिका लागि पूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता भएकाले निकै महŒवपूर्ण दिनको रूपमा लिएको बताए । विगतमा सम्झौता हुने, तर कार्यान्वयनमा ढिलासुस्ती हुने अवस्थाको अन्त्य गर्दै बैंकले पालिकाकाहरूको आर्थिक रूपान्तरणको अभियानमा नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे ।