सुर्खेतमा कर्फ्यु उल्लंघन : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २० प्रहरी घाइते

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा, स्थिति तनावग्रस्त

सुर्खेतको वीरेन्द्रनगरमा गरिएको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले राजनीतिक दलविरुद्ध चर्का नाराबाजीसमेत गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगर प्रहरी वीरेन्द्रनगरका प्रहरी प्रमुख लालबहादुर सुनारसहित २० जना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते  छन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन भएको विरोधमा आठ राजनीतिक दलले सोमबार गरेको नेपाल बन्दका क्रममा सुर्खेत तनावग्रस्त बनेको थियो ।  बन्दकर्ताले सोमबार बेलुका ७ बजेतिर वीरेन्द्रनगर– ६ गोदामलाइनमा रहेका कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी गर्न खोजेका थिए ।आन्दोलनकारीले विभिन्न पार्टीका कार्यालय तोडफोड र आगजनीको प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बांगेसिमल क्षेत्र तोकेर कर्फ्यु आदेश जारी गरिएको छ,’ उनले भने, ‘प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरूमै आगजनी हुन थालेपछि कर्फ्यु आदेश जारी गर्नुपरेको हो ।’ स्थिति नियन्त्रणमा लिन वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

एमसिसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पाार्टीले सोमबार नेपाल बन्दको आह्वान गरेका थिए । बन्दका कारण वीरेन्द्रनगरमा दिनभर आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।

See More On

सुझावित समाचार