२६ सयमा आइपुग्यो नेप्से

एमसिसी पारित भएपछि बजारले टेवा पाउने अनुमान मिलेन

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

लगातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से बढ्न सकेन । ४३ दशमलव १२ अंक (१ दशमलव ६२ प्रतिशत)ले घट्दा नेप्से परिसूचक दुई हजार ६ सय १० दशमलव ५८ बिन्दुमा आइपुगेको छ ।  केही दिनदेखि लगानीकर्ता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का आधारमा सेयर बजारमा लगानी रणनीति बनाइरहेका थिए । लगानीकर्ताको संगठनकै नेतृत्वहरूले एमसिसी अनुमोदनपछि बजार बढ्ने सार्वजनिक गरेविपरीत नेप्से भने घटेको हो । 

सोमबार कारोबारमा आएका १३ वटै समूह सूचक घटेका छन् । जलविद्युत् समूह सबैभन्दा धेरै ३ प्रतिशतले घट्दा ट्रेडिङ समूह, फाइनान्स, लगानीगत समूह, जीवन बिमा, निर्जीवन बिमा समूहको २ प्रतिशतले घटेका छन् । जलविद्युत्को सेयरमा गिरावट आएसँगै जलविद्युत् समूहका सबै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तेह्रथुम पावर कम्पनी र साम्लिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

केही दिनदेखि एमसिसीलाई देखाएर ठूला लगानीकर्ताले आफूसँग ठूलो परिमाणमा रहेको सेयर बिक्री गर्न लागिरहेको एक लगानीकर्ताले आरोप लगाए । ‘विशेष गरी ठूला लगानीकर्ताले पहिले नै सस्तो दरमा खरिद गरेको जलविद्युत् कम्पनीको सेयर मूल्य बढाएर बेच्ने दाउमा रहेका थिए,’ ती लगानीकर्ताले भने, ‘अहिले उनीहरूले नै बिक्री बढाउँदा कम्पनीहरूको मूल्यमा गिरावट आएको हो ।’

यो समूहमा दिव्यश्वरी हाइड्रो, मैलुङ खोला जलविद्युत् र न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । सबैभन्दा धेरै सेयर खरिद–बिक्री हुने कम्पनीहरूमा पनि जलविद्युत् कम्पनी अगाडि छन् । अपि पावर, अरुण भ्याली हाइड्रो, अपर तामाकोसी हाइड्रो र नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै १२ करोड रुपैयाँदेखि १६ करोड रुपैयाँसम्मको कारोबार भएको छ । यस दिन एक सय ८३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने सातवटाको मूल्य बढेको छ ।  

सबैभन्दा धेरै बढ्नेमा एनआइसी एसिया बैंकको ‘ऋणपत्र ०८३’, सन्राइज ब्लुचिप फन्ड, तारागाउँ रिजेन्सी होटेल छन् । यिनको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ । धितोपत्र र ऋणपत्र गरी दुई सय २७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ६६ करोड रुपैयाँको काराबोर भएको छ । ‘क’ वर्गको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६४ अंकले घटेर पाँच सय दशमलव २१ बिन्दुमा पुगेको छ ।

See More On

सुझावित समाचार