बलात्कारका आरोपी एमाले सांसद बानियाँ पक्राउ

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै होटेलमा बोलाएर ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । महिलाले दिएको उजुरीका आधारमा बाँके प्रहरीले सोमबार नेपालगन्ज विमानस्थलबाट बानियाँलाई पक्राउ गरेको हो । उनी कर्णाली प्रदेशका सांसद हुन् । 

जबर्जस्ती करणी अभियोगमा उजुरी परेपछि बानियाँविरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौंबाट नेपालगन्ज आउने क्रममा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए । 

सांसद बानियाँले गत १९ माघमा नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै होटेलमा बोलाएको र त्यहीँ जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । उनले २७ माघमा उजुरी दिएकी थिइन् । प्रहरीले त्यसबारे जानकारी गराउँदा बानियाँले आफैँ उपस्थित हुने बताए पनि फरार रहेको डिएसपी न्यौपानेले बताए । 

‘हामीले उजुरीबारे जानकारी गराउँदा उहाँ (बानियाँ)ले आफैँ उपस्थित हुने वचन दिनुभएको थियो । उजुरी परेको लामो समयसम्म उपस्थित नभएपछि प्रहरीले पक्राउ ग¥यो,’ उनले भने, ‘अब हिरासतमा राखेर अनुसन्धान हुन्छ । अनुसन्धानपछि वास्तविकता खुल्नेछ ।’ सांसद बानियाँले भने महिलाले दिएको उजुरीमा कुनै सत्यता नभएको दाबी गर्दै आएका छन् । 
 

सुझावित समाचार