एमसिसीविरुद्धको आन्दोलन नियन्त्रण गर्न तनहुँदेखि झिकाइए प्रहरी

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

तीन हजार दुई सय प्रहरी दैनिक प्रत्यक्ष खटाइएका छन्

सशस्त्रका १४ सय :  सशस्त्र प्रहरीले खटाएकामध्ये अधिकांश माइतीघर र बानेश्वर क्षेत्रमा खटिन्छन् । काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरतलाई पनि आन्दोलनमा खटाउन झिकाइएको छ । 

नेपाल प्रहरीका १६ सय : नेपाल प्रहरीले दैनिक एक हजार ६ सयजनालाई खटाउने गरेको छ । प्रहरी प्रधान कार्यालयदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलगायत कार्यालयबाट थप जनशक्ति मागेको छ । 

राष्ट्रिय अनुसन्धान विभागका चार सय : राष्ट्रिय अनुसन्धान विभागले आफ्नो जनशक्तिलाई एमसिसीसम्बन्धी विवादले उत्पन्न हुन सक्ने सुरक्षा जोखिमको सूचना संकलनमा खटाएको छ । जसअनुसार उपत्यकामा करिब चार सय कर्मचारी खटिएका छन् । 

...                                           ...

एमसिसीविरुद्ध चर्किएको आन्दोलनमा उपत्यकाकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाडौंमा झिकाएर खटाएको हो । 

‘प्रधान कार्यालयको कार्यदलसहित उपत्यकामा सबैजसो कार्यालयबाट खटिएका छन्,’ सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कमलप्रसाद तिउसिनाले भने, ‘उपत्यकानजिकका जिल्लाबाट समेत केही जनशक्ति मगाइएको छ ।’ 

एमसिसीविरुद्ध भएका आन्दोलनमा दैनिक कम्तीमा तीन हजार दुई सय सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिने गरेका छन् । सत्तारुढ गठबन्धन टुट्ने अवस्था आएमा आन्दोलनमा हजारौँ सहभागी हुन सक्ने जोखिमको आकलन गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । आन्दोलनमा सशस्त्र प्रहरीले मात्र दैनिक एक हजार चार सय जनशक्ति खटाएको छ । जसमध्ये धेरैजसो माइतीघर र बानेश्वर क्षेत्रमा खटिने गरेका छन् । 

त्यस्तै, नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलगायत कार्यालयबाट थप जनशक्ति मागेको छ । आन्दोलनमा नेपाल प्रहरीले दैनिक एक हजार ६ सयजनालाई खटाउने गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयबाट मात्र आठ सय प्रहरीलाई बानेश्वरलगायत क्षेत्रमा खटाइएको थियो ।

‘जनआन्दोलनको वेलामा झैँ प्रहरी खटाइएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘जुनसुकै वेला आन्दोलनले उग्र रूप लिन सक्ने जोखिममा आधारमा यसरी ठूलो संख्यामा जनशक्ति खटाइएको हो ।’ उपत्यकाबाहिरका जिल्लामा रहेका वाटर क्यानन र भिड नियन्त्रणमा प्रयोग हुने बडी प्रोटेक्टरलगायतका सामानसमेत मगाइएको छ । 

राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो जनशक्तिलाई एमसिसीसम्बन्धी विवादले उत्पन्न हुन सक्ने सुरक्षा जोखिमको सूचना संकलनमा खटाएको छ । जसअनुसार उपत्यकामा उसका करिब चार सय कर्मचारी खटिएका छन् । 

ठूलो संख्यामा सुरक्षाकर्मी खटिए पनि प्रहरीले न्यूनतम मात्र बल प्रयोग गर्दै आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनाली बताउँछन् । ‘प्रहरीका गाडी जलाइएका छन्, पेट्रोल बम प्रहार भएका छन्, तैपनि प्रहरी आन्दोलनमा निकै संयमित भएर खटिएको छ,’ उनी भन्छन्, ‘घाइते आन्दोलनकारीलाई हामीले नै उद्धार गरेर अस्पताल पुर्याउने मात्र होइन रगतसमेत दिएका छौँ ।’ शुक्रबारको आन्दोलनमा गुलेली तथा त्रिशूल बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार आन्दोलनमा हालसम्म एकैदिन अधिकतम तीन सयजनासम्म सहभागी हुने गरेका छन् । आन्दोलनकारीभन्दा धेरै सुरक्षाकर्मी बानेश्वर क्षेत्रमा परिचालन हुने गरेको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकमा सत्तारुढ दलबीच मतभेद बढेमा आन्दोलन उग्र हुन सक्ने भएकाले थप सुरक्षाकर्मी ‘ब्याकअप’मा राख्ने निर्णय भएको छ ।

सुझावित समाचार