जसपा बैठक : एमसिसीबारे शनिबार छलफल, भट्टराई पक्षको दबाबपछि नेतृत्व प्रणालीको एजेन्डा थप

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे शनिबारसम्म आफ्नो आधिकारिक धारणा बनाउने भएको छ । एमसिसीलगायत समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्न जसपाले बोलाएको केन्द्रीय कार्यकारिणी बैठकमा शुक्रबार नेताहरूलाई एमसिसी सम्झौता र त्यससम्बन्धी जानकारीमूलक पुस्तिकासमेत वितरण गरिएको छ । कार्यकारिणी सदस्यहरूलाई सम्झौता अध्ययन गरेर शनिबारको बैठकमा आउन भनिएको कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए । 

शनिबारको बैठकमा एमसिसीको विषयमा कार्यकारिणी सदस्यले आफ्नो धारणा राख्ने र पार्टीले आधिकारिक धारणा बनाउने उनले बताए । शनिबार एमसिसीको विषयमा जानकार नेताहरूबाट बैठकमा ब्रिफिङसमेत हुनेछ ।

एमसिसीको बारेमा सत्तारुढ दलहरूले आफ्नो धारणा प्रष्ट पारे पनि जसपाले आधिकारिक धारणा बनाइसकेको छैन । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच नै एमसिसीको विषयमा फरक मत छ। भट्टराईले एमसिसी संसदबाट पारित गर्नुपर्ने बताउँदै आएका छन् भने यादव मौन छन् ।

शुक्रबारको बैठकमा एजेन्डा र स्थानीय निर्वाचन र पार्टी दर्ताको विषयमा मात्र छलफल भएको जसपा कार्यकारिणी इस्तियाक राईले जानकारी दिए । ‘बैठकमा धेरै छलफल भएन । एजेन्डा र स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ताको विषयमा मात्र प्रवेश गरेका छौँ’, उनले भने । 

एजेन्डा थप्न दबाब
बैठकमा छलफलका लागि ११ वटा एजेन्डा प्रस्तुत गरिएको छ । बैठकमा एमसिसी, पार्टीको विधान अधिवेशन, संघीय परिषद् र केन्द्रीय समितिको बैठक, नेतृत्व प्रणालीबारे  र मन्त्रीहरूको कार्यसमीक्षालगायतका एजेन्डाका विषयमा छलफल हुनेछ । 
बैठकमा अध्यक्ष यादवले सुरुमा तीनवटा एजेन्डा मात्रै प्रस्तुत गरेका थिए । यादवले स्थानीय निर्वाचन र पार्टी दर्ता, एमसिसी र देशको वर्तमान राजनीतिक परिस्थितिको विषयमा छलफल गर्ने भन्दै बैठक सुरु गरेका थिए । तर ती एजेन्डा अपुग रहेको भन्दै बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका कार्यकारिणी सदस्यहरूले आवाज उठाएका थिए । 

त्यसपछि अध्यक्ष यादवले समय छोटो भएकाले समसामयिक विषयमा तत्काल धारणा बनाउन बैठक बोलाइएको बताएका थिए । ‘अहिले वर्तमान राजनीतिको विषयमा छलफल गरौँ । समय कम छ । सबै एजेन्डा राख्दा बैठक लम्बिन सक्छ । यो बैठकबाट एमसिसीको विषयमा धारणा बनाउँ,’ यादवको भनाइ उदृत गर्दै एक नेताले भने । जवाफमा बैठक लामो भए पनि एजेन्डा थपेर काम गर्नुपर्ने भन्दै कार्यकारिणी सदस्यहरूले आवाज उठाएका थिए । 

एजेन्डा निर्धारणकै लागि करिब २ घण्टा बैठकमा छलफल भएको थियो । त्यसपछि संगठनात्मक कार्यसमीक्षा र समायोजन, केन्द्रीय कार्यकारिणीमा पदपूर्ति,केन्द्रीय कार्यकारिणीको पदनाम र कार्य विभाजन, पार्टीको विधान अधिवेशन, संघीय परिषद् र केन्द्रीय समितिको बैठक ,नेतृत्व प्रणाली, सुज अभियानको समीक्षा र मन्त्रीहरूको कार्यसमीक्षालाई एजेन्डामा थप गरिएको थियो ।

जसपामा नेतृत्वको विषयलाई लिएर यादव र भट्टराईबीच दुरी बढिरहेको वेला कार्यकारिणी समिति बैठक बसेको हो । भट्टराई पक्षले महन्थ ठाकुर पार्टीबाट अलग भएपछि खाली रहेको अध्यक्ष र अन्य पदमा पदपूर्ति हुनुपर्ने बताउँदै आएको छ । तर यादवले भने विशिष्ट परिस्थितिमा दुई अध्यक्षको व्यवस्था गरिएको भए पनि अब आवश्यक नरहेको बताउँदै आएका छन् । भट्टराई पक्षले पार्टीको केन्द्रीय समिति बैठक बोलाउन पनि यादवलाई दबाब दिँदै आएको छ ।

सुझावित समाचार